धरान : साबिक विजेता न्युरोड टिम (एनआरटी)बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी)झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीका शिशिर लेखी,सरोज घिसिङ र रोहन खड्गीले गोल गरे ।
काँकडभिट्टाका जर्सी ४ का रोबर्ट खोन्जोउले दोस्रो हाफको १५ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ ।
खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको केएफटिसीले दोस्रो हाफको सुरुमा नै गोल खान पुग्यो ।
खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गरे । सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढङ्गबाट लेखीले बललाई जाली चुमाएका थिए । खेलको ६० औँ मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए ।
शिशिर लेखिले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेक बरालले रोकेका थिए । रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरेका थिए ।
लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । खेलको ६२ औँ मिनेटमा अभिषेक लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए ।
खेलको ७९ औँ मिनेटमा सुमित श्रेष्ठले मिलाइदिएको ब्याक क्रसलाई सुन्दर ढङ्गले खड्गीले गोल गरेका थिए । पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो । खेलको १६ औँ मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके ।
खेलको ४९ औँ मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्स भित्रबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको सशक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए ।
पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष् चापागाईँले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकासिएको थियो । एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो ।खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोले गर्न चुकेका थिए ।
२५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौबीच दिउसो ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।