धरान : एन्फाको कोशी प्रदेश फुटबल संघव्दारा आयोजित कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता प्रदेश प्रिमियर लिग माघ २८ गते देखी धरान रङ्गशालामा सुरु हुने भएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबहरू बिच प्रतिस्पर्धा हुनेछ । फागुन ८ गते सम्म सञ्चालन हुने लिग फुटबलमा कुल कुल १६ खेल हुनेछन् ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले शुक्रवार बिहान एन्फा एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘जिल्लाका क्लबहरूलाई नेपाली फुटबलको महत्त्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न प्रदेश प्रिमियर लिग आयोजना गरिएको हो ।’
प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबहरू बिच हुने प्रतियोगिताबाट २ वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलकालागि छनौट हुनेछन् ।
प्रतियोगिताको ४ समूहमा समूह ‘ए’ लोह रुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर छ ।समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट् रिपोर्टिङ फुटबल क्लब मोरङ छन् । समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाई जन चारआली फुटबल क्लब झापा, रेड हर्स फुटबल क्लब इलाम छन् । समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुईपा ११ फुटबल क्लब खोटाङ रहेका छन् ।
प्रिमियर लिगको सुपर ४ का लागि प्रथम पुरस्कार २ लाख रुपया रहेको छ । दोस्रो पुरस्कार १ लाख ५० हजार, तेस्रो १ लाख २५ हजार, चौथो पुरस्कार १ लाख रुपया रहेको छ । प्रतियोगिताको वेस्ट प्लेयरले ५० हजार रुपया पाउने छ ।
वेस्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकरले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको १६ प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार ५÷५ हजार रुपया प्रदान गरिने छ ।
अध्यक्ष राईका अनुसार पहाडी जिल्ला च्याम्पियन क्लबहरूलाई प्रिमियर लिग तयारीका लागि ६० हजार रुपैयाँका दरले तयारी खर्च प्रदान गरिएको बताए । तराईका जिल्लालाई ५० हजारको दरले तयारी खर्च प्रदान गरिएको छ ।
उनले भने ‘तयारीका लागि यो रकम पर्याप्त नहुन सक्छ तर, प्रदेश प्रिमियर लिग तयारीलागि क्लबहरूले जिल्लाको साधन श्रोत परिचालन गरी आफ्नो फण्ड रेजिङ गर्ने अवसरको रूपमा पनि यसलाई उपयोग गर्नु पर्छ ।’
फुटबलमा जिल्लालाई अघि बढाउन स्थानीय साधन श्रोत पनि जुटाउनु पर्ने उनको भनाई थियो । प्रिमियर लिगको उद्घाटन प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री सदनन्द मण्डलले गर्ने कार्यक्रम छ । लिगका खेलहरू हेर्नका लागि दर्शकहरूले रङ्गशालाको गेटमा २५ रुपयाको टिकट काट्नु पर्नेछ ।