धरान : कोशी प्रदेश फुटबल सङ्घले सातै प्रदेशका फुटबल क्लबहरूलाई राष्ट्रिय लिगसँग जोड्न प्रथम ‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता धरानमा सञ्चालन गर्ने भएको छ ।
प्रदेश प्रिमियर लिग माघ २८ गते देखी धरान रङ्गशालामा सञ्चालन हुने सङ्घका अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले सोमवार बिहान एन्फा एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।
उनले भने ‘अहिले एन्फा फुटबलका सबै भन्दा महत्त्वपूर्ण राष्ट्रिय लिगलाई देशभरिका सातै प्रदेश, जिल्लाका फुटबल क्लबहरूलाई समेटेर फुटबललाई पूर्ण व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्न अगाडि बढेको छ ।’
महत्त्वाकाङ्क्षी राष्ट्रिय लिगलाई परिणाममुखी बनाउन अहिले सात वटै प्रदेशका प्रदेश लिगहरू भइरहेको उनले जानकारी दिए ।
राष्ट्रिय लिगमा शहिद स्मारक लिगमा ६ वटा ए डिभिजन टिमबाट छनौट हुने र ४८ जिल्लाबाट प्रदेश हुँदै एन्फा प्रेसिडेन्ट कप र अन्तर प्रादेशिक प्रतियोगिताबाट ४ वटा टिम छनौट भई राष्ट्रिय लिग फुटबल हुने उनको भनाई छ । उनले भने ‘यो राष्ट्रिय लिग अत्यन्तै वैज्ञानिक र समावेशी पद्धति हो ।’
त्यसैको सुरुआत कोशी प्रभिन्स प्रिमियर लिग-२०८१ भएको उल्लेख गर्दै उनले पछिल्लो समय नेपाली फुटबलका खेलाडीहरूको अन्तर्राष्ट्रिय बजारमा माग बढेको बताए ।
अध्यक्ष राईले भने ‘अबको १० वर्षमा नेपाली फुटबल टिम विश्वकपमा प्रवेश गराउने दिशामा एन्फालाई अघि बढाउनु पर्छ ।’
धरानमा हुने प्रदेश प्रिमियर लिगमा ४ राष्ट्रिय लिगको टिम, ११ जिल्लाबाट जिल्ला च्याम्पियन क्लबहरूबाट सुपर-४ समूह बिच सुपर लिगको प्रतिस्पर्धा हुने बताइएको छ । प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाबाट सहभागी क्लबहरू निम्न छन् :
धरान फुटबल क्लब सुनसरी, लोहरुङ फुटबल क्लब संखुवासभा, देउराली युवा क्लब धनकुटा, गाइघाट फुटबल क्लब उदयपुर, धाइजन चारआली स्पोर्टिङ क्लब झापा, सम्राट स्पोर्टिङ क्लब मोरङ, प्रगतिशील युथ क्लब ताप्लेजुङ, पाँचथर युनाइटेड क्लब पाँचथर, रेडहर्ष फुटबल क्लब इलाम, बुइपा एघार स्पोर्टिङ क्लब खोटाङ र लाइब्रेरी फुटबल भोजपुर ।
अध्यक्ष राईले प्रदेश प्रिमियर लिग प्रतियोगिता सञ्चालनका लागि जिल्लाका क्लबहरूलाई तयारी खर्च, पुरस्कार लगायत गरी २५ लाख २५ हजार खर्च लाग्ने अनुमानित बजेट पनि सार्वजनिक गरे । सङ्घले सरकारी तथा सरोकारवाला निकायहरूसँगअनुमानित ६० लाख रुपैयाँ सहयोग माग गर्ने प्रस्ताव गर्नेछ ।
पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मानमा पनि आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रदेश प्रिमियर लिगको नव निर्मित रनिङ कप अनावरण गरे ।
विश्वकप फुटबलको प्रतीक ढाँचामा बनाइएको कोशी प्रदेश प्रिमियर कप निकै आकर्षक छ । चाँदीको करिब ४ केजी तौल रहेको कपमा कोशी प्रदेशको नक्सा १ तोला सुन लगाएर बनाइएको छ । उक्त रनिङ कप प्रिमियर लिगका च्याम्पियन टिमलाई पुरस्कार सहित प्रदान गरिने छ ।
कार्यक्रममा पत्रकार महासङ्घ सुनसरीका सभापति सन्तोष काफ्ले, उपाध्यक्ष अर्जुन सुवेदी लगायत पदाधिकार तथा कार्यसमिति सदस्यहरूलाई सम्मानपत्र, उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर बेघा, पूर्व नगर प्रमुख तिलक राई, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल लगायतले धरानको विकास र समस्यालाई उजागर गर्ने सवालमा पत्रकार महासङ्घको भूमिका महत्त्वपूर्ण रहेको बताए । सञ्चालन सुनसरी जिल्ला खेलकुद सङ्घका महासचिव कोवदजंग कार्कीले सञ्चालन गरेका थिए ।