धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरान स्थित रङ्गशालामा आज सोमवार देखी प्रदेश प्रिमियर लिग फुटबल सुरु भएको छ ।

आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी हुँदै आ-आफ्नो समुहको शीर्ष स्थानमा उक्लिएका छन् ।

पहिलो खेलमा गाईघाट फुटबल क्लबले भोजपुरको लाइबेरी फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै तीन अंक सहित समूह बी को शीर्ष स्थानमा रहेको छ ।

गाईघाटको जितको लागी प्रवीण राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रवीण राईले नगद ५ हजार सहित ट्रफि हात पारे ।

त्यस्तै आजै भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै ताप्लेजुङको प्रगतिशील युवा क्लब तीन अंक सहित समूह डी को शीर्ष स्थानमा रहेको छ । प्रगतिशीलको जितका लागी सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच प्रगतिशील युवा क्लबका सविन तामाङ घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका थिए । कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए।

प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डलले धरानमा खेल पर्यटनको अपार सम्भावना भएको भन्दै त्यसै अनुसार प्रदेश सरकारले योजना बनाउने बताए ।

कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले फुटबल खेल व्यवसायीक रूपमा विकास हुँदै गइरहेको बताए ।