धरान : धरान रंगाशालामा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको आज मङ्गलवार भएको खेलबाट मोरङको सम्राट रिपोर्टिङ क्लब र धाईजन चारआली फुटबल क्लब विजयी हुँदै समूह ‘बी’ र समूह ‘सी’ को शीर्ष स्थानमा पुगेका छन् ।

पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई ५-१ ले पराजित गर्दै सम्राट स्पोर्टीङ क्लब मोरङ ३ अङ्क सहित समूह बीको शीर्षस्थानमा उक्लिएको छ । सम्राट स्पोर्टीङका लागी हरि खवासले ह्याट्रिक गरे ।

उनले खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । खवासले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे । त्यस्तै डेबिट मगर र अङ्कित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टीङलाई ५-१ को फराकिलो जित दिलाए ।

भोजपुरका लागी सुसन तामाङले एक गोल फर्काएका थिए । समान ३ अङ्क भएको गाईघाट फुटबल क्लब गोल सङ्ख्याको आधारमा दोस्रो स्थानमा रहेको छ । समूह विजेताको टुङ्गो लगाउन बुधवार सम्राट् स्पोर्टीङ र गाईघाट बिच समूह बी को अन्तिम खेल हुनेछ ।

भोजपुर भने लिगको दुवै खेलमा पराजित हुँदै घर फर्किएको छ । दोस्रो खेलमा धनकुटाको देउराली यूथ क्लबलाई ३-० ले पराजित गर्दै झापाको धाईजन चारआली फुटबल क्लब तीन अङ्क सहित समूह सी को शीर्ष स्थानमा रहन सफल भएको छ ।

धाइजनकालागी सागर रसाइलीले दुई गोल गरेका थिए भने निश्चल बस्नेतले एक गोल थपेका थिए । सागर रसाइली खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । बुधवार समूह डी मा ताप्लेजुङको प्रगतिशील यूथ क्लब र खोटाङको बुइपा-११ बिच पहिलो खेल हुनेछ ।

दोस्रो खेल समूह बी मा उदयपुरको गाईघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टीङ क्लब बिच हुने आयोजक कोशी प्रदेश फुटबल सङ्घले जनाएको छ । सङ्घको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरू सहभागी छन् ।

कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईका अनुसार ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई ४ समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।