धरान : धरान रङ्गशालामा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा समूह 'बी'बाट समूह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै गाईघाट समूह विजेता बनेको हो । गाईघाटको एक मात्र गोल प्रविन राईले गरे । खेलको म्यान अफ द म्याच गाईघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरियो ।

गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अङ्क सहित समूह विजेता हुँदा ३ अङ्क मात्रै भएको सम्राट भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यसैगरी समूह 'डी'को खेलमा प्रगतिशील यूथ क्लब ताप्लेजुङलाई १-० ले पराजित गर्दै बुइपा-११ खोटाङ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
बुइपा-११ का लागी जीवन परियारले निर्णायक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रगतिशीलको धेरै प्रयास विफल बनाएका बुइपाका गोल किपर नवीन पोखरेल म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरियो ।
यस अघि समूह डी मा ताप्लेजुङको प्रगतिशील यूथ क्लब र सुनसरीको धरान फुटबल क्लबबिच भएको खेलमा दुवै टिमले खेल नियम विपरीत खेलाडीलाई समावेश गरेको उजुरी परेपछि दुवै टिमको अङ्क खोसिएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।
दुवै टिमको अङ्क खोसिएपछि बुइपा-११ समूहको शीर्ष स्थानमा छ भने दुवै खेलमा अङ्क बटुल्न नसकेको प्रगतिशील प्रतियोगिताबाट बाहिरिएको छ । अब बुइपा-११ ले धरान फुटबल क्लबसँग खेल्नेछ । बुइपा-११ ले धरान फुटबल क्लबसँग बराबरी खेले मात्रै पनि समूह विजेता बन्नेछ तर धरानले बुइपालाई कम्तीमा २ गोलको अन्तरमा पराजित गर्दा मात्रै समूह विजेता बन्नेछ ।
बिहीबार समूह सी अन्तर्गत धनकुटाको देउराली यूथ क्लब र इलामको रेडहर्ष क्लब खेल्नेछन् । त्यस्तै गरी समूह ए अन्तर्गत सङ्खुवासभाको लोहरुङ फुटबल क्लब र पाँचथरको पाँचथर युनाइटेड फुटबल क्लब खेल्नेछन् । समूह ए मा दुई टिम मात्रै रहेकोले यो खेल नै समूह विजेताको टुङ्गो लाग्नेछ ।
कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई ४ समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।