धरान : माओवादीले आज बिहीबार बिहान धरानमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ । मुलुकमा भएको सशस्त्र द्वन्द्वको सुरुवातको दिनलाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
द्वन्द्वको बेला माओवादी जनयुद्धका लडाकु सहिद, बेपत्ताका धरानमा रहेका १५ सहिद, २ बेपत्ताका परिवारलाई आर्थिक सहयोग एवं सम्मान गर्दै साँझमा भानुचौकमा दीप प्रज्वलन गरिँदै छ ।

नेकपा माओवादी केन्द्र धरान नगरको आयोजनामा भएको खुल्ला रक्तदानमा १२६ पिन्ट रगत सङ्कलन भएको अध्यक्ष उद्धव लिम्बूले जानकारी दिए ।
प्रमुख अतिथि माओवादी केन्द्रीय सदस्य अजम्बर काङमाङले जनयुद्धमा घाइते तथा बेपत्ता परिवारलाई आरक्षणको व्यवस्था गर्दै जनयुद्धकै कारण देशमा विभिन्न कोटाको व्यवस्था भएको बताए । जनयुद्धले ल्याएको परिवर्तनले आम जनताको जीवनमा आधारभूत परिवर्तन गरेको उनको भनाई थियो ।
उनले भने ‘जनयुद्धकै कारण नेपाली जनताका छोराछोरीहरूले दलित जनजाति कोटामा सरकारी कार्यालयमा नियुक्ति पाएकोले त्यसलाई बिर्सनु हुँदैन ।’
अतिथि धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले अब सङ्घीयताको मर्म बोध हुने गरीको कार्य गर्नु पर्ने बताए । उनले जनयुद्धले हासिल गरेको उपलब्धि जोगाउने गरी कार्य गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रमको सभापतित्व नगर अध्यक्ष उद्धव लिम्बूले गरेका थिए । सुवास खवासको संयोजनमा भएको कार्यक्रममा नेपाली काँग्रेसका धरान सभापति श्याम पोख्रेल, जसपा नगर अध्यक्ष ताजुब लिम्बू, नेकप एसका नगर अध्यक्ष रेवती रमण राई लगायतको उपस्थिति थियो ।