धरान : कोशी प्रदेश फुटबल क्लबद्वारा सञ्चालित धरान रङ्गशालामा जारी प्रदेश प्रिमियर लिग फुटबलको पहिलो चरणका खेलहरू आज शुक्रवार सम्पन्न भएको छ ।
पहिलो चरणबाट अङ्कको आधारमा ४ समूहको शीर्षमा पुगेका क्लबहरू पाँचथर, गाईघाट, धनकुटा र खोटाङ बिच आइतबार देखी सुपर लिग सुरु हुँदैछ ।
प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरू बिच भएको समूह चरणको लिगमा समूह विजेता टिमहरू सुपर लिग अन्तिम चारमा प्रवेश गरेका छन् ।
समूह ए बाट पाँचथर युनाइटेड, बी बाट गाईघाट फुटबल क्लब, सी बाट देउराली यूथ क्लब धनकुटा र समूह डी बाट खोटाङ बुइपा-११ सुपर लिगमा प्रवेश गरेका हुन् । सुपर लिगमा चार टिमले आइतवारदेखी प्रतिस्पर्धा गर्नेछन् ।
आज शुक्रवार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समूह विजेता बनेको हो । यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी ३ अङ्क बटुलेको थियो ।
कुल ४ अङ्क भएको बुइपा समूह  विजेता हुँदा धरानको १ अङ्क र प्रगतिशीलले भने अङ्क जोड्न सकेन । बुइपाका डिकेन राई र मिलन राईले गोल गरे । १ गोल र १ असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि बुइपाले ताप्लेजुङको र धरान र प्रगतिशील बिचको खेलमा दुवै टोलीले खेल नियम विपरीतका खेलाडी समावेश गरेपछि दुवै टोलीको अङ्क खोसिएको थियो ।
धाइजन चारआली पनि कारबाहीमा
झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरीतका खेलाडी समावेश गरेपछि समूह सी अन्तर्गत भएको खेलमा धनकुटाको देउराली यूथ क्लबलाई ३-० ले पराजित गरे पनि धाइजन चारआलीको अङ्क खोसिएको थियो ।
नियमानुसार देउरालीले ३ अङ्क प्राप्त गरेको थियो । देउरालीले बिहीबार भएको खेलमा इलामको रेडहर्ष क्लबलाई १-० ले पछि पारेपछि ६ अङ्कका साथ समूह विजेता हुँदै देउराली सुपर लिगमा पुगेको हो ।
यस अघि नै पाँचथर र गाईघाट समूह विजेता हुँदै सुपर लिगमा प्रवेश गरिसकेका थिए ।
समूह सी अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २-२ गोलको बराबरीमा सकिएको छ । धाइजनका सागर रसाइली र पूजन थापाले गोल गरे भने रेडहर्षका विनोद धमला र साङ्गे शेर्पाले गोल गरे ।
रेडहर्षका गोलकर्ता विनोद धमला म्यान अफ द म्याच घोषित हुँदै ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।
फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता थियो । अब आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्ने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।