धरान : कोसी प्रदेश फुटबल सङ्घद्वारा आयोजित धरान रङ्गशालामा जारी कोसी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह ए विजेता हुँदै पाँचथर युनाइटेड फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
आज बिहीबार भएको खेलमा सङ्खुवासभाको लोहरुङ फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै पाँचथर समूह विजेता बनेको हो । समूह विजेता भएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा पाँचथरका सन्तोष सम्बाहाम्फेले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरियो ।
समूह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समूह विजेताको टुङ्गो लागेको हो । पराजित भएको लोहरुङ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि भएको पहिलो समूह ‘सी’को खेलमा इलामको रेडहर्ष क्लबलाई २-० गोलले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समूह विजेता हुने सम्भावना कायम गरेको छ ।
समूह ‘सी’मा झापाको धाइजन चारआलीसँग पराजित भएको धनकुटा र १ खेल खेलेको धाइजनको समान ३ अङ्क भएको छ ।
भोली हुने रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबिचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ। यस समूहमा रहेका तीनै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।
भोली शुक्रवार धरान फुटबल क्लब र खोटाङको बुइपा-११ बिच पहिलो खेल हुनेछ । साथै इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबिचको दोस्रो खेल हुनेछ ।
३ अङ्क भएको बुइपा र शून्य अङ्क भएको धरान दोस्रो चरण प्रवेशका लागी खेल्नेछन् । धरानले २ गोलको अन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ । बुइपा भने १ गोल अन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।
फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरू बिच प्रतिस्पर्धा भइरहेको कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।
उनका अनुसार ११ जिल्ला च्याम्पियन क्लबहरूलाई ४ समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधिका लागी पनि खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।