धरान : कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले धरानमा चलिरहेको कोशी प्रदेश प्रिमियर लिगले अबका गोल्डकपहरुमा नयाँ क्लबहरूको सम्भावना बढाएको बताएका छन् ।
प्रिमियर लिगको पहिलो चरणबाट झापा, मोरङ, सुनसरीका क्लबहरू बाहिरिएको बारेमा सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रिमियर लिगमा पहाडी जिल्लाहरूको वर्चस्व कायम रहेको बताउँदै भने ‘सधैँ झापा, मोरङ, सुनसरी भनेर मात्र हुँदैन, अबको गोल्डकपहरुमा नयाँ क्लबहरूको सम्भावना बढेको छ ।’
पहिलो चरणको खेल सकिएपछि ४ समूहका विजेताहरू बिच भोली आइतबार देखी हुने ‘सुपर लिग’को खेल तालिका सार्वजनिक गर्न आज शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन ।
पहाडी जिल्ला च्याम्पियन क्लबहरू पनि गोल्डकप खेल्न सक्छन् भन्ने कुरा प्रिमियर लिगको खेलहरूबाट साबित भएको उनको भनाई थियो ।
उनले अब हुने सुपर लिगबाट पहिलो र दोस्रो क्लबले ए डिभिजनको लागि अन्तर प्रदेश लिग खेल्ने बताउँदै भने ‘प्रदेश फुटबल सङ्घले चारै क्लबहरूलाई अबका गोल्डकपहरुमा नयाँ क्लबको रूपमा समावेश गराउन भूमिका खेल्नेछ ।’
पछिल्लो समय सोलुखुम्बु जस्तो दुर्गम जिल्लामा पनि फुटबलका राम्रा खेलाडीहरू तयार भएको तर, भौतिक पूर्वाधारहरूको अभावमा ओझेलमा परेको उनले बताए ।
अध्यक्ष राईले सुगम जिल्लामा भौतिक पूर्वाधार पर्याप्त भएको बताउँदै भने ‘अब सङ्घीय, प्रदेश सरकारको खेलकुदको भौतिक विकासको लगानी पहाडी जिल्लाहरूमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन एन्फाले पहल गर्नेछ ।’
उनले प्रिमियर लिगबाट झापा, सुनसरी बाहिरिनुमा क्लब र खेलाडी दुवै पक्षलाई लिगको नियमप्रति जानेर नजानेर गरिएको लापरबाही पनि कारण भएको बताए।
समूह 'डी'मा ताप्लेजुङको प्रगतिशील यूथ क्लब र धरान फुटबल क्लबबिच भएको खेलमा दुवै टिमले खेल नियम विपरीत खेलाडीलाई समावेश गरेको उजुरी परेपछि दुवै टिमको अङ्क खोसिएको थियो ।
यसैगरी ३ अङ्क प्राप्त गरी समूह सीको शीर्षमा रहेको झापाको धाईजन चारआली फुटबल क्लब विरुद्ध नियम विपरीत खेलाडी समावेश गरेका उजुरी परेकोले प्राप्त अङ्क खोसिएको थियो ।
भोली आइतबार देखी हुने सुपर लिगको वरियतामा पहिलो खोटाङको बुइपा ११, पाँचथर युनाइटेड फुटबल क्लब, उदयपुरको गाईघाट फुटबल क्लब र धनकुटाको देउराली यूथ क्लब छन् ।
भोली आइतबार पहिलो खेल खोटाङको बुइपा ११ र पाँचथर युनाइटेड फुटबल क्लब बिच साढे १२ बजे देखी हुनेछ । दोस्रो खेल उदयपुरको गाईघाट फुटबल क्लब र धनकुटाको देउराली यूथ क्लब बिच अडाई बजे देखी हुनेछ ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।