इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना स्थानीय कार्यकर्तासँग भेटघाट र संवादमा सक्रिय भएका छन् । स्थानीय नागरिकको गुनासो सुन्ने र सोही अनुसार समस्या समाधानमा पहल गर्ने काममा लागेका छन् उनी ।

आइतबार इटहरी २ को शान्तिनगर समुदायीक वनको कार्यालय अगाडी स्थानीयको कुरा सुन्न मन्त्री लिएर पुगे ढुङ्गाना । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहित पुगेका उनले स्थानीले भोगिरहेको हात्तीको पिडा मात्र सुनेनन् समाधानको लागि प्रदेश स्तरबाट हुनसक्ने अधिकतम प्रयास बारे चासो दिए ।

इटहरीको ३, २, १९ र २० नम्बर वडाका स्थानीय हात्तीबाट प्रभावित भएका छन् । आधा रातमा हात्तीले दुख दिने गरेको स्थानीयको गुनासो सुनेका मन्त्री मण्डलले मन्त्रालयबाट हुने सक्दो प्रयास थाल्ने बताए । मानव हात्ती द्धन्द व्यवस्थापनको लागि अपसेट सोलार फेन्स जडान गर्ने बाचा व्यक्त गरे । 

केन्द्रीय सदस्य ढुङ्गानाले पर्यावरणीय सन्तुलन कायम राख्न हात्तीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै मानवीय क्षति हुन नदिनेगरि व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले भने, 'हात्तीसँगै मिलेर कसरी सहअस्तित्व कायम राख्न सकिन्छ भन्ने बारे सोच्ने बेला भएको छ । हात्तीलाई बस्तीमा आउन नपर्ने गरी कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसबारे चासो दिनुपर्छ ।'