इटहरी : उदयपुरमा साहसिक पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षणको लागि साइक्लिङ कार्यक्रम हुने भएको छ । ‘साइकल फर हेल्थ, राइड फर युनिटी’ भन्ने नाराको साथ जिल्ला साइक्लिङ सङ्घ उदयपुर र नेपाली सेनाको संयुक्त आयोजनामा फाल्गुन १६ र १७ गते कार्यक्रम तय भएको हो ।

२५० बढी साइकल राइडर्सहरू सहभागी कार्यक्रममा त्रियुगा नगरपालिकाको गाईघाट बजारबाट सुरु हुने यात्रा बेलटार, रामपुर हुँदै चतरा सम्म पुग्नेछ । वातावरणीय संरक्षण सँगै उदयपुरको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

गाईघाट देखि चतरा सम्मको ६५ किलोमिटर यात्रा गरेपछि पुनः भोलीपल्ट गाईघाट पुगेर कार्यक्रम समापन हुने साइक्लिङ सङ्घका अध्यक्ष माधव बानियाले बताए । ग्लोबल वार्मिंगको कारण पृथ्वी तातिरहेको अवस्थामा साइक्लिङले पर्यावरण संरक्षणको लागि सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ । 

प्रत्येक सहभागीले फारम भरेर २५ सय भुक्तानी गर्नुपर्ने र सहभागीले यात्रा अवधिमा आफूले गरेका कार्यहरूको लागि पूर्ण रूपमा जिम्मेवार आफै हुनुपर्ने नियम बनाइएको छ । राजमार्गहरूमा यात्रा गर्दा दुई जना भन्दा बढी सँगै साइकल चलाउन नपाइने भएको छ ।

फाल्गुन  १५ गते नै जिल्ला बाहिरका आगन्तुकको लागि गाईघाटमा स्वागत कार्यक्रम राखिएको छ । १६ गते बिहान ७ बजे गाईघाट पिपल चौकमा स्वागत तथा नेवारी सगुन ग्रहण गरेर यात्रा सुरु हुने भएको छ । दिउँसो ११ बजे चौदण्डीगढी नगरपालिकाको बेलटारमा खाना खाने र दिउसो ४ बजे बेलका नगरपालिकाको रामपुर बजारमा प्याक गरिएको खाजा खाने कार्यक्रम तय भएको छ ।

सोही दिन ५ बजे बेलका नगरपालिकाको कोठुमा विश्राम गरेपछि ६ बजे साझाको खाना खाने कार्यक्रम निर्धारण भएको छ । साढे ६ बजे साङ्गीतिक मनोरञ्जन कार्यक्रम, फायर क्याम्पिङ, अन्तरक्रिया हुनेगरि व्यवस्थापन मिलाइएको छ । कार्यतालिका अनुसार १७ गते बिहान ७ बजे कोशीमा जलयात्रा गर्ने र १० बजे खाना खाएर ११ बजे गाईघाट प्रस्थान गरी श्री १८ नम्बर बाहिनी अड्डा भुल्केमा बिदाइ कार्यक्रम तय भएको छ ।