धरान : राष्ट्रपति रामचन्द्र पोैडेलले धरानमा निर्मित कृष्ण प्रणामी धर्मशाला एउटा अर्को मानवीय सेवा प्रदान गर्ने मन्दिरको रूपमा निर्माण भएको बताएका छन् ।
धरान-८ मा नवनिर्मित कृष्ण प्रणामी धर्मशाला उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले वीपी प्रतिष्ठानमा आउने बिरामीका आफन्तहरूलाई निःशुल्क खाने बस्ने व्यवस्था गरेको कुरा थाहा पाउँदा यो धर्मशाला मात्र नभएर मन्दिरको रूपमा निर्माण भएको बताएका हुन ।

उनले ‘यो यस धर्मशाला भवन मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको लाग्यो ।’
राष्ट्रपति पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानवसेवा नै भएको बताउँदै नवनिर्मित कृष्ण प्रणामी धर्मशाला त्यसैको एक उदाहरण भएको बताए ।
उनले भने ‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रूपमा बुझ्नसके समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ ।’
राष्ट्रपति पौडेलले धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताउँदै भने ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ, परोपकार पुण्याय, पापय परपिडनम् ।’
नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यता भित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनले बताए ।
राष्ट्रपति पौडेलले ‘यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्दछ ।’
यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको उनले बताए ।
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्किँदो रहेको उनको भनाई छ ।
नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रणामी सम्प्रदायका जगद्गुरु श्रीकृष्णमणि महाराज लगायतले पनि शुभकामना व्यक्त गरे ।