इटहरी : राष्ट्रपति रामचन्द्र पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आज शुक्रवार धरान आउने भएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिएर राष्ट्रपति कार्यक्रम स्थल जान लागेका हुन् ।

धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको बाहुलीबाट मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन हुने भएको छ ।
३ करोड १५ लाखको लागतमा निर्मित धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राष्ट्रपति आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ ।