धरान : १३औँ धरान १० के रनको उपाधि केन्याली धावक विल्सन चियुलिओट र महिला तर्फ शरनले जोर्टिजले चुमेकी छन् ।
पुरुष विजेता अफ्रिकी मुलुक केन्याका धावक हुन । महिला विजेता पनि अफ्रिकी मुलुक केन्याका धाविका हुन ।
शनिवार बिहान भएको नेवा च्यारिटी रनको १० किलोमिटर दूरी चियुलिओटले ३० दशमलव ५५ मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे ।
जोर्टिजले ३८ दशमलव ४२ मिनेटमा उक्त दूरी पुरा गरेकी थिइन् ।
गत वर्ष २०२४ को धरान १० के रनमा जुलियस मुरिउकीले ३२ दशमलव ५० मिनेटमा र दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले ३८ दशमलव ८ मिनेटमा १० किलोमिटर दूरी पार गरेका थिए ।
भानुचोकबाट बिहान ७ बजेर ३० मिनेट सुरु भएको १३औँ धरान १० के रनमा ३१ दशमलव ८ मिनेटमा पुरा गरेर केन्याली धावक जुलियस मुरिउकी दोस्रो बने ।
उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो बनेका दुर्गा बहादुर बुद्धले ३२ दशमलव ४४ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन। दिपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन ।
महिला दोस्रो र तेस्रो विजेताहरूले ४० हजार र ३० रुपियाँ पुरस्कार पाए ।
यसै गरी, अन्डर १६ उमेर समूहमा पुरुषतर्फ ईश्वर राई प्रथम, सुवासकुमार बिक. दोस्रो र बिकी यादव तेस्रो भए भने महिलातर्फ जुही राई प्रथम, कुसुल राई दोस्रो र पूजा महतरा तेस्रो भइन ।
भेट्रान पुरुषतर्फ विजय कुमार राई प्रथम, राकेश महर्जन दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो भए । भने भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, सपना राई दोस्रो र सम्झना राई तेस्रो भए ।
सुपर भेट्रान पुरुषतर्फ विजय कृष्ण तामाङ प्रथम, विजय सागर दनुवार दोस्रो र शिव कुमार राई तेस्रो हुनुभएको थियो भने सुपर भेट्रान महिलातर्फ जमुना त्रिखत्री मोक्तान प्रथम, विष्णुमाया याक्खा वानेम दोस्रो र मनसा रार्ई तेस्रो भए ।
मिड भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, सुवर्ण सुब्बा दोस्रो र नाम्पर लेप्चा तेस्रो भए भने मिड भेट्रान महिला अनुदा तामाङ प्रथम, होमादेवी पुन दोस्रो र शान्ता वानेम तेस्रो भए । अण्डर १६, भेट्रान लगायत प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई नगद सात हजार, पाँच हजार र तीन हजार रुपियाँसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
ह्वीलचेयर तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गरे।
यस तेह्रौँ संस्करणमा खेलकुदमय, जनचेतनामूलक कार्यक्रमसहित ह्विलचेयर रेससहित विगतभन्दा फरक र भव्य रूपले मनाउन नेपालकै धेरै धावक धाविकाको सहभागी रहेको धरान रनको संस्थापक सन्तोष राईले बताए ।
१० किलोमिटर दौडको रुट यसपालि पुतली लाइन देखि दौड सुरु गरी देशी लाइन, पुरानो बजार, पिण्डेश्वरी मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन अमरहाट कभर्डहल हुँदै जिरो प्वाइन्ट, जानकी चोक, रङ्गशाला हुँदै गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुन पुतली लाइन भानुचौक रहेको थियो ।


        
                    
        
                                        
                                                                                                
        
                
                
        
        
















        
        
















































