विराटनगर : सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको कर्तव्यप्रति सचेत गराउने सन्देश लेखिएका स्टिकर सवारी साधनमा टाँस्ने अभियान सुरु गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीको उपस्थितिमा आइतबार विराटनगर बसपार्कमा विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरूमा स्टिकर टाँसेर अभियान सुरु गरिएको हो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य राजन कँडेल उपस्थित थिए ।
स्टिकरमा ‘म मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारीसाधन चलाउँदिन’, लेन अनुशासनको पालना गर्छु, तीव्र गतिमा सवारीसाधन चलाउँदिन लेखिएका छन् ।
यस्तै जथाभाबी सवारी साधन पार्किङ गर्दिन, जथाभाबी ओभरटेक गर्दिन, यात्रुहरूलाई पहिलो प्राथमिकता दिन्छु, ट्राफिक नियमको पालना गर्छु लेखिएका छन् ।
उक्त प्रतिबद्धताहरूले यातायात मजदुरलाई सवारी चलाउँदा जिम्मेवार बनाउने उद्देश्य रहेको सङ्गठनका कोशी प्रदेश अध्यक्ष गौरी लामाले जानकारी दिए ।
स्टिकर अभियान यातायात स्वतन्त्र मजदुर सङ्गठन र यातायात मजदुर सङ्घले माघ २७ देखि प्रदेशभरी सञ्चालन गर्दै आएको अभियानको क्रममा सुरु गरिएको हो ।
कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरीया, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी, इटहरीका डिएसपी रामेश्वर त्वाती, ट्रेड युनियन महासङ्घ जिफण्ट कोशी अध्यक्ष किशोर धमला, ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला सहभागी थिए ।
यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ अध्यक्ष उत्तम बन्जाराको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन यातायात मजदुर सङ्घका मोरङ अध्यक्ष बाबुराम कट्टेलले गरेका थिए ।