विराटनगर : मकालु हिमाल आरोहण खुला गरिएको ७०औँ वर्ष पुरा भएकोमा हिमाल नजिक संखुवासभाको मकालु गाउँपालिकाको नुममा दक्षिण एशियाली साहित्यिक, सांस्कृतिक श्रष्टाहरुको भेला हुने भएको छ ।
नेपाल स्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिम चुचुरा हो । मकालुको उचाइ ८४६३ मिटर छ । हिमालकै नाममा गाउँ विकास समिति छ । मकालु शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा नुम बजारमा ४ दिने साहित्यिक-सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

महोत्सवमा भारत, बङ्गलादेश र भुटानका श्रष्टाहरू सहभागी हुने छन् । फागुन १४ देखी १७ गते सम्म हुने महोत्सवको तयारी भइरहेको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । महोत्सव मकालु गाउँपालिका र संयोजनमा आयोजना हुँदै छ ।
महोत्सवले गाउँपालिका सहित संखुवासभाको अन्तर्राष्ट्रिय पर्यटन महत्त्व बढाउने बुढाथोकीले बताए । उनले स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदान प्रदान हुने उनको भनाइ छ ।
महोत्सवका लागि गाउँपालिका उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । महोत्सव स्थलमा खेलकुद, नाटक, लोकदोहोरी, झाँकी प्रदर्शन हुने, स्थानीय उत्पादनको स्टलहरू राखिने संयोजक राईले बताइन् ।
सोही अवसरमा साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान पुर्याएका मीनकुमार नवोदित सहित दर्जन व्यक्तित्वलाई सम्मान गरिने छ ।