इटहरी : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक हुबहु पारित नहुने दाबी गरेका छन् । कसैको विरोध गरेकै भरमा जेल जानुपर्ने अवस्था नआउने बताउँदै उनले खुलेर आलोचना गर्न पाइने बताए ।

नेपाली काँग्रेस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर बन्न आग्रह गरे । सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ को विवाद बारे शर्माले प्रष्ट पारेका हुन् ।

मङ्गलवार इटहरीमा आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ कोशी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै शर्माले आशावादीताको सञ्चार गर्न जरुरी रहेको उल्लेख गरे । अपाङ्गता भएका नागरिक अन्य भन्दा बढी आशावादी भएको बताएका शर्माले आत्महत्या गर्नेको दरमा पनि अपाङ्गको सङ्ख्या कम भएको दाबी गरे । महाधिवेशनले अपाङ्ग नागरिकलाई राजनीति भन्दा जीवन सिकाउनुपर्ने भनाइ राखे ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन समयमै हुने शर्माको भनाइ छ । उनले भने, "काँग्रेस विधान र संविधान भन्दा माथि छैन । आगामी २०८४ को निर्वाचनमा काँग्रेस नयाँ नेतृत्व लिएर जनता माझ जान्छ । कसैले समयमै महाधिवेशन हुँदैन भन्ने प्रचार गर्नु भ्रमपूर्ण र कपोकल्पित हो । कसैको इच्छाले महाधिवेशन नहुने भन्ने हुँदैन ।"

biswa-sharma-karyakram