इटहरी : नेपाली नाट्य कला, संस्कृतिसँग अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न नेपाल सहित १३ मुलुकका थिएटर समूह सहभागी हुने इण्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल इटहरी म्याट्रिक्सको आयोजनामा आजबाट सुरु हुँदैछ।

अन्तर्राष्ट्रिय नाट्य महोत्सव आज फागुन २३ देखि २५ गते सम्म सञ्चालन हुने बिहीबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो । फेस्टिभल काठमाडौँ, इटहरी र धनकुटामा पनि आयोजना हुनेछ ।

इटहरीमा महोत्सव इटहरी म्याट्रिक्स परिसर स्थित सांस्कृतिक भवन नव निर्मित थिएटर हलमा चल्ने छ । महोत्सवमा १३ भन्दा बढी राष्ट्रका थिएटर समूहहरूका ४४ जना विदेशी रङ्गकर्मी कलाकार तथा संस्कृतिकर्मीहरू सहभागी हुने इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्रीले बताएका छन् ।

उनका अनुसार महोत्सवमा विविध नाटक प्रदर्शनहरू, कार्यशालाहरू तथा सांस्कृतिक कार्यक्रम आदानप्रदान गरिने छ । श्रीले भने ‘महोत्सवले नेपाल र प्रदेशको पर्यटन प्रवर्द्धन, कला, संस्कृति र सभ्यताको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवलको इटहरीमा हुने महोत्सवमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका २० भन्दा बढी नाट्य संस्था तथा थिएटरहरूको सहकार्य रहने छन् ।

महोत्सवमा विदेशी नाटकहरूको प्रदर्शन, स्थानीय प्रस्तुति र रङ्गमञ्च र नाट्य अभिनयका कार्यशालाहरू हुने अध्यक्ष श्रीले बताए ।महोत्सवको उद्घाटन इटहरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । उक्त अवसरमा नाटक ‘टुम्बा एण्ड नेभर’ नाटक अरण्यक नाट्य दलले प्रदर्शन गर्नेछ ।

नाटक ‘सिक्स माइक्रो लेक्चर्स अन जेनोसाइड’को प्रस्तुति ड्रामा बक्सले गर्नेछ । नाटक ‘भ्रूण’ इटहरी म्याट्रिक्सले प्रस्तुत गर्नेछ । सोही दिन स्थानीय तथा विदेशी कलकारहरूबिच संवादको कार्यक्रम छ ।

महोत्सव अवधिमा  आर्ट फर अलको नाट ‘टुडो’, ग्रास स्टेज थियटरले ‘वियोण्ड होप एण्ड डिस्पेयर’, नटसुको किरिटानीले ‘द ट्रान्स बोर्डर’, नाट्य चेतनाल नाटक ‘देवी’ प्रस्तुत गर्नेछ ।

यस्तै अनत्त थिएटर ट्रुपले ‘डिसेप्सन अफ द डेमोन’, इण्डी लीको नाटक ‘इट ओण्ट बि लङ नाउ’, प्रदर्शन प्रस्तुति हुनेछ ।

मेट्रिक्सका अध्यक्ष विक्रम श्रीका अनुसार फेस्टिभलमा जापान, भारत, चीन, थाइल्याण्ड, बङ्गलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपालका रङ्गकर्मीहरूको प्रस्तुति हुनेछ ।