धरान : एक महिना अघि मोरङको उर्लाबारीमा पसलको सटर तोडफोड गरेर चोरी भएको नयाँ मोबाइलहरू प्रहरीले खोजतलास गरी बरामद गर्न सफल भएको छ ।
गत माघ २१ गते उर्लाबारी-५ स्थित योगराज कार्कीको मोबाइल वर्ल्ड पसलको सटर तोडफोड गरी चोरी भएको ३२ थान मोबाइल बरामद गर्न प्रहरी सफल भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार चोरीको घटना लगत्तै खोज तलास सुरु गरिएको थियो । प्रदेश प्रहरीको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त प्रहरी टोली खोजतलासमा लागेको थियो ।
खोजतलासमा संलग्न प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरूबाट उर्लाबारीमा चोरी भएको २० थान मोबाइल बरामद गरेको छ ।
यस्तै चोरी भएको ११ थान मोबाइल नवलपरासीमा र १ थान मोबाइल दमकमा बरामद गरेको हो । मोबाइल चोरीको घटनाबारे थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।