इटहरी : जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रभावित बनेको छ । नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचन तालीका प्रभावित बनेको हो ।

अनेरास्ववियुले स्ववियु सभापतिमा अगाडी सारेका हेमराज खड्का (आदित्य) को मतदाता नामावलीमा नाम नआएपछि लफडा भएको छ । फाल्गुन २३ गते प्रकाशित गर्नुपर्ने मतदाता नामावली २५ गते (आइतबार) प्रकाशित भएको हो । खड्काको नाम नसमेटिएको भन्दै आक्रोशित बनेको अनेरास्ववियुले नामावली च्यातेको हो ।

खड्कालाई सभापति बनाउने गरी प्रचार गरेको अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएको छ । क्याम्पस कमिटी अध्यक्ष सन्तोष तिम्सिना सबैलाई मतदानमा सहभागी गराउनुपर्ने माग राखेको बताउँछन् । नामावलीमा २०६ जनाको नाम छुटेको हुँदा विद्यार्थीलाई बाहिर राखेर चुनावमा जान नहुने उनको तर्क छ ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति (२०८१) द्वारा क्याम्पस/कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी भएको छ । निर्देशनको बुँदा नम्बर ५ मा माघ ११ भित्र भर्ना भएका विद्यार्थी मात्र मतदाता बन्न पाउने व्यवस्था छ । सोही अनुसार निर्वाचन समितिले नामावली प्रकाशित गरेको हो ।

अनेरास्ववियुका खड्का फाल्गुन दोस्रो साता मात्र क्याम्पसमा भर्ना भएका छन् । निर्वाचन हुने नहुने यकिन नभएपछि अन्तिम समयमा भर्ना गरेका खड्का निर्वाचन समितिले प्रकाशित गरेको नामावली समेटिएनन् । निर्देशिकाको पालना गर्नुपर्ने भएकाले सोही अनुसार भएको निर्वाचन समितिले जनाएको छ । 

नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापति प्रमोद भट्टराईले विधि विधान र नियम भन्दा बाहिर गएर गरिएको निर्वाचनले राम्रो थिति नबस्ने बताएका छन् । चुनाव हार्ने निश्चित भएपछि अनेक बहाना गरेर भाँड्न खोजेको भट्टराईको भनाइ छ । अनेरास्ववियुमा हार मानसिकताले काम गरेको बताउँदै उनले नेविसंघ जुनसुकै हालतमा निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताए । 

उता अनेरास्ववियुका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्का (जिबी गजल) त्रिभुवन विश्वविद्यालयको निर्देशिका भन्दा पनि सहमति महत्त्वपूर्ण हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेका नियमावलीले अनेरास्ववियुको उम्मेदवारले उम्मेदवारी दिन नपाउने भएपछि त्यसलाई मान्न जरुरी नरहेको उनको भनाइ छ ।

निर्वाचन समितिले भने निर्वाचनका कार्यक्रम धकेलिएको बताएको छ । अनेरास्ववियुले तालाबन्दी गरेको कारण थप निर्वाचनका कार्यक्रम पुनः प्रकाशित गर्ने समितिले जनाएको हो । नेबिसंघले सुमन बस्नेतलाई सभापति बनाउने गरी चुनावी प्रचार अगाडी बढाएको छ । यसअघि नेविसंघकै सहदेव काफ्लेले अनेरास्ववियुका उज्ज्वल सिग्देललाई ६ सय बढी मतान्तरले पराजित गरेका थिए ।

janata campus notice