धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १४ वडा र ४ वडा विजयी भएको छ ।
धरानमा भइरहेको रात्रिकालीन प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा धरानको ९ वडालाई २-१ गोल अन्तरले पराजित गर्दै १४ वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

१४ वडाकालागी निमेष तामाङले खेलको १६ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको १० औँ मिनेटमा गोल गर्दै १४ वडाकोलागी अग्रता दोब्बर बनाएका थिए ।
अघिल्लो संस्करणको तुलनामा उत्कृष्ट खेलेको ९ वडाकालागी खेलको अन्तिम मिनेटमा लेशन राईले गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच १४ वडाका गोलकर्ता निमेष तामाङ घोषित भए ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा १ वडालाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै ४ वडा प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । ४ वडाले प्रि क्वाटर फाइनलमा साबिक विजेता १३ नं.वडाको सामना गर्नेछ ।
४ वडाकालागि सन्तोष लिम्बूले २ गोल गरे भने आमोस राई र आनन्द राईले एक एक गोल गरेका थिए । सुरुवातदेखि नै १ वडालाई दबाबमा राखेको ४ वडाले खेलको सुरुवातमा नै गोल गरेको थियो ।
आमोस राईले खेलको ५ मिनेटमा नै गोल गरे भने आनन्द राईले खेलको १५ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा २–० ले अघि रहेको ४ वडाले दोस्रो हाफको ११ औँ मिनेटमा सन्तोष लिम्बूको गोल मार्फत अग्रतालाई तेब्बर बनायो ।
म्यान अफ द म्याच घोषित भएका सन्तोष लिम्बूले खेल सकिन अघि इन्जुरी समयमा गोल गर्दै टोलीलाई ४–१ को अन्तरमा विजयी गराए । १ वडाको तर्फबाट सुलभ लिम्बूले दोस्रो हाफको १२ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
भोली सोमबार पहिलो खेलमा साँझ ५ः३० बजे १८ वडाले १९ वडाको सामना गर्नेछ भने दोस्रो खेलमा साँझ ७ः३० बजे ३ वडा र ११ वडा बिच खेल हुने आयोजकले जनाएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । २ वडा र ७ वडाले प्रतियोगितामा सहभागिता जनाउन सकेनन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।