धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा १८  वडा र ११ वडा विजयी भएका छन् ।

धरानमा भइरहेको रात्रिकालीन प्रतियोगितामा १९ वडा १८ वडासँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । २–१ ले अघि रहेको अवस्थामा अन्तिम मिनेटमा गोल खादै १९ वडा विजयी हुनाबाट वञ्चित भयो ।

प्रबल राईले खेलको २३ औँ मिनेटमा गोल गर्दै १८ वडालाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा प्रमेश राईको गोल मार्फत वडा १९ ले खेललाई बराबरीमा ल्यायो ।

खेलको ६१ औँ मिनेटमा गोल अतीत राईले १९ वडाकालागी गोल गर्दै टोलीलाई २–१ गोल अन्तरको अग्रता बनाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा १८ वडाका सौनाक श्रेष्ठले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

तत् पश्चात् भएको टाई ब्रेकरमा धरान–१८ ले ३–२ को स्थितिमा जित हासिल गर्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ । १८ वडाकालागी टाई ब्रेकरमा निकेन राई, सौनक श्रेष्ठ र रोशन उराउले गोल गरे भने उज्ज्वल राई र विवेक परियारले गोल गर्न चुके ।

१९ वडाकालागी सनम लिम्बू र इन्सन राईले मात्रै गोल गर्न सके । १९ वडाका आयाम राई, अभिशेख राई र नाम्बाहाङ लिम्बूको प्रहार विपक्षी गोल किपर धिरज बस्नेतले रोकिदिएका थिए । उनै गोल किपर धिरज बस्नेत खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै गरी सोमबार नै भएको दोस्रो खेलमा वडा नं. ११ ले वडा ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रि क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ । पराजित भएको ३ वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको सुरुवातमा ३ वडाले अग्रता बनाएपनि त्यसलाई जोगाइराख्न नसक्दा पराजित हुन प¥यो । खेलको छैठौ मिनेटमा नै ३ वडाका युनिक लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ अत्यन्तै राम्रो प्रदर्शन गरेको ३ वडाले दोस्रो हाफमा लय गुमायो ।

११  वडालाई अफसाइड ट्रयापमा राख्दै दबाबमा राखेको ३ नं. वडाले दोस्रो हाफमा भने ३ गोल खान पुग्यो । ११  वडाका पवन राईले दुई गोल गरे भने प्रविण राईले एक गोल गरे । खेलको म्यान अफ द म्याच ११ वडाका पवन राई घोषित भए ।

भोली सोमबार पहिलो खेलमा साझ ५ः३० बजे १७  वडाले २० वडाको सामना गर्नेछ भने दोस्रो खेलमा साझ ७ः३० बजे ४. वडा र १३. वडा बीच खेल हुने आयोजकले जनाएको छ ।चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

२ वडा र ७ वडाले प्रतियोगितामा सहभागीता जनाउन सकेनन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।