इटहरी : नेपालको सबै भन्दा ठुलो मानिएको सुनसरीको हरिनगर गापा-१ भूटाहा स्थित ईदगाह मस्जिदमा इस्लाम धर्मावलम्बी समुदायको पर्व ईद मनाउने तयारी पुरा भएको छ ।

यसपालिको रोजा पुरा भएपछि ईदउलफित्रको नमाज सोमवार पढिने छ । सुनसरीका मुस्लिम समुदाय भूटाहा ईदगाहमा भेला भई सोमबार बिहान ८ बजे ईदको नमाज पडिने ईदगाह समितिका उपाध्यक्ष सेराज फलाहीले बताए ।

उनका अनुसार आज आइतबार रमजान महिनाको ‘रोजा’ अर्थात् व्रत पुरा भएपछि इस्लाम धर्मावलम्बीहरूले भोलि सोमबार ईदउलफित्र मनाउँदै छन् ।

इस्लाम धर्मावलम्बी समुदायले ईदउलफित्रको नमाज सामूहिक भेला भई मस्जिद, ईदगाहमा पढ्ने गर्छन् । ईदको नमाज पढेपछि एक अर्कालाई अङ्कमाल गर्दै खुसी साटासाट गरी घरमा पकाएका विभिन्न परिकार खाने गर्दछन् ।