इटहरी : कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी वर्षलाई "कोशी प्रदेश पर्यटन वर्ष २०८२"को रूपमा घोषणा गरेको छ ।

तेह्रथुम र सङ्खुवासभाको सङ्गम स्थल तिनजुरे, मिल्के, जलजले क्षेत्रबाट पर्यटनबर्ष सुरु हुन लागेको हो ।

चैत २७ गते तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित आरआर गार्डेनमा हुने उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने तयारी भएको छ ।

कोशी प्रदेश पर्यटन मन्त्रालयको टोली बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो । पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरे सहितको टोलीले बिहीबार ओलीलाई निमन्त्रणा गरेको थियो ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने उद्देश्यले कोशी प्रदेश सरकार लागि परेको छ । उद्घाटन समारोहको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री ओलीलाई ल्याउन मुख्यमन्त्री कार्कीले पहल गरिरहेका छन् ।

ओलीका विश्वासपात्र कार्कीले उद्घाटन समारोह मार्फत कोशीको पर्यटकीय सम्भावनाको उजागर गर्ने योजना बनाएका छन् ।

मुख्यत: भारतीय पर्यटकलाई आकर्षित गर्नेगरि कोशी प्रदेश सरकारले तयारी थालेको छ । धार्मिक पर्यटनमा जोड दिएको सरकारले पूर्वका महत्त्वपूर्ण धार्मिक स्थलको सजावट र प्रचारमा ध्यान दिएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा इस्टर्न टुरिजम मार्ट सम्पन्न गरेका पर्यटन व्यवसायीहरू कोशी सरकारको पर्यटन वर्ष घोषणाले उत्साहित भएका छन् ।