धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । सेमिफाइनलमा वडा नं. १५, ५, १४ र १७ नं. वडाले स्थान पक्का गरेका छन् ।
आइतबार साँझ धरान १८ नं. वडालाई पराजित गर्दै १७ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातमा नै १८ नं. वडाले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा १८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

१८ नं. वडाका सलोन याक्खाले खेलको १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको १८ नं. वडाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।
१७ नं. वडाकालागी खेलको ४९ औँ मिनेटमा कृष्ण राईले गोल गरेर खेललाई १–१ गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको ७० औँ मिनेटमा सुशील राईले गोल गर्दै १७ नं. वडालाई २–१ को जित दिलाए ।
सुशील राई खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।भोली सोमबार साँझ ७ बजे वडा नं. १५ र वडा नं. ५ बिच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।