इटहरी : शुक्रवार इटहरीमा जुत्ता चप्पल मेला उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका अध्यक्ष दिवस पोखरेलले औपचारिक रूपमा मेलाको उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै पोखरेलले इटहरीको बजार चलायमान हुने र व्यावसायिक विकासमा टेवा पुग्ने बताए । यस्ता मेला महोत्सवको कारण बजारको चहलपहल मात्र बढ्ने नभई व्यावसायिक ज्ञानको आदानप्रदान समेत हुने धारणा राखे । अघिल्लो वर्ष पनि उनै पोखरेलले उद्घाटन गरेको मेला भव्य रूपमा सफल भएको थियो ।
जुत्ता चप्पल उत्पादक सङ्घ नेपालको आयोजनामा पूर्वका सहरहरूमा मेला भइरहेको छ । बुधवार देखि कारोबार सुरु भएको इटहरीमा शुक्रवार प्रवक्ता पोखरेलले औपचारिक उद्घाटन गरेका हुन् । पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्रण्डका जुक्ता विक्री भइरहेका छन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको सङ्घका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ ।









































































