उर्लाबारी : मोरङको उर्लाबारीमा जारी उर्लाबारी महोत्सवमा जुत्ता चप्पल मेलामा दैनिक रूपमा भीड बढ्दै गएको छ । मेलामा दिइएको आकर्षक दरको छुटले उपभोक्तालाई तानेको छ ।

उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजना तथा जुत्ता चप्पल उद्योगी समूह पवित्रा सु ईण्डस्ट्रिज प्रा.लिको सह-आयोजनामा जारी जुत्ता मेलामा व्यवसायीले शो-रुमको भन्दा दुई गुणासम्म मूल्य घटाएर जुत्ता चप्पल बेचिरहेका छन् ।

पछिल्लो समयमा नेपाली जुत्तामा उपभोक्ताको आकर्षण र विश्वास बढेको छ । विभिन्न कम्पनीले मूल्य घटाएर मेलामा जुत्ता चप्पल राखेका छन् । सबै वर्ग र उमेरका लागि हुने र सस्तादेखि महँगासम्मलाई हुने किसिमका फुटवेयर मेलाको आकर्षण बनेका छन् ।

मेलाले स्वदेशी जुत्ताको प्रवर्द्धनमा निकै सहयोग पुगेको आयोजकले जनाएको छ । स्वदेशी जुत्ता विदेशी जत्तिकै बलियो र आकर्षक भएकै कारणले उपभोक्ता माझ लोकप्रिय बन्दै गएको छ ।

जारी मेलालाई हजारौँ उपभोक्ताहरूले अभिरुचि पूर्वक अवलोकन गरिसकेका छन् । जुत्ता मेलामा विभिन्न कम्पनीले नयाँ डिजाइनका जुत्ताहरू समेत बिक्री वितरणमा ल्याएका छन् ।

मेलामा १५० देखि १० हजार सम्मका जुत्ता तथा चप्पल बिक्री वितरणका लागि राखिएको छ । मेलामा उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासको लागी एक अनुपम थलो हुने विश्वास स्वयम उपभोक्ताको पनि छ ।

उर्लाबारीका सञ्चारकर्मी समेत रहेका स्थानीय उपभोक्ता मदनबाबु प्रसाईँ नेपाली उत्पादन प्रवर्द्धन गर्न राज्यले पनि प्रोत्साहन गर्नुपर्ने र आम उपभोक्तालाई सचेत गराउनुपर्ने बताउँछन् ।

सन्तुष्ट आम उपभोक्ताहरूको चर्चा र नेपाली ब्राण्डप्रतिको विश्वासको फलस्वरूप नियमित रूपमा नेपाली जुत्ता तथा चप्पलहरूको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको पाइएको छ ।

नेपाली जुत्ता उद्योगहरूबाट उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरू वार्षिक रूपमा निश्चित समयको लागि विशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मूल्यमा बिक्री वितरण गरी नेपाली जुत्ता चप्पलहरूको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु जुत्ता मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्न र उपभोक्तालाई यसैमा बानी बसाल्न मेलामा विभिन्न डिजाइनका जुत्ता तथा चप्पलहरू निकै कम मूल्यमा बिक्री गरिँदै आएको बिक्रेता आकाश मगर बताउँछन् ।

'बि नेपाली बाई नेपाली' नारा दिइएको यस जुत्ता मेलामा कोही नझुक्किउन् र नठगिउन् भनेर उपभोक्ताहरूको हितलाई ध्यानमा राखिएको आयोजकले जनाएको छ । भारतबाट अवैध रूपमा भित्र्याइएका जुत्ताहरूले नेपाली उत्पादनलाई कमजोर पार्न खोजेको नेपाली जुत्ता उद्यमीहरूको गुनासो पनि छ ।

एकातिर, सरकारी कार्यालयमा स्वदेशी वस्तु प्रयोग गर्ने नीति छ । तर कार्यान्वयन एकदमै कमजोर छ । यसलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सक्यो भने मात्रै पनि नेपाली जुत्ताको बजार विस्तार र महत्वमा वृद्धि स्वतः हुनेछ । यस तर्फ राज्यको विशेष ध्यान जानु आवश्यक छ ।

Urlabari-mahotsab---crossro

Urlabari-mahotsab--Smart-sh

Urlabari-mahotsab-bfdear-sh

Uralbari-mahotsab-Shoe-landUrlabari-mahotsab-first-wal