विराटनगर : कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्ने लगानी सम्मेलनको सबै तयारी पूरा भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । सम्मेलन वीरेन्द्र सभागृहमा हुनेछ ।
सम्मेलनबारे जानकारी दिन आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रक्रिया लगायतका सबै विषयमा तयारी पूरा भएको छ ।’
उनका अनुसार लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको छ । त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न तयारी पनि गरिएको बताए । भने ‘सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण भई रोजगारी सिर्जनामा सहयोग पुर्याउने छ ।’
सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने, राष्ट्रिय आयको वृद्धिमा यसले सहयोग पुर्याउने भएकाले अधिकतम लगानी भित्र्याउन र लगानीको सुनिश्चितता गर्न सम्मेलन सफल हुने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँको परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ । ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राखिने छन् ।
पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए ।
उनका अनुसार ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए । पहिलो पटक आयोजना गरिएकोले स्थानीय तह, सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलनको तयारी गरिएको उनको भनाई छ ।
लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाले पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेको बताए । उनका अनुसार लगानी सम्मेलनमा कृषिका ९, उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ ।
सूचना प्रविधिका २ र वेस्ट म्यानेजमेन्टका २ परियोजना सम्मेलनका लागि सोकेसिङ भएको उनले बताए । होटल, रिसोर्ट, वाटरपार्क लगायतका योजना सोकेसिङ हुने भएका छन् ।
सम्मेलन सचिवालयका संयोजक प्रदेश सचिव पवन कुमार तिमिल्सिले सम्मेलनका समितिहरू गठन भइसकेको बताए । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको उनको भनाई थियो ।