धरान : धरानका नगर प्रमुख हर्क साम्पाङसंग उनले अभियन्ता हुँदा धरान बासीलाई निःशुल्क खानेपानी खुवाउने गरेको वाचा सम्झाउँदा घरको धारा काटिएका धरान-१५ बिशाल चोकका इन्द्रबहादुर तामाङले महसुलमा थप ११ हजार ५०९ रुपया जरिवाना तिरेका छन् ।
उनले भने ‘२०७७ साल देखी हाल सम्म हर्क साम्पाङलाई साथ, सहयोग गरेको उपलब्धि पानीको धारा कटेर बिलमा ११ हजार ५०९ जरिवाना देखी प्रहरी हिरासत सम्म पुग्ने पुरस्कार भएको छ ।’
तामाङले बुधवार दिउँसो जरिवाना सहित ४२ हजार ९४ रुपैयाँ खानेपानी महसुल तिरेपछि धारा साँझ साढे ५ बज पुनः जोडिएको छ । तर खानेपानी बोर्डको रेकर्डमा ५ वर्ष देखि पानीको बिल नतिर्ने २ सय भन्दा बढी छन् । धारा काटिने र जरिवाना तिर्ने तामाङ मात्र हुन ।
आफू एक्लै मेयरको आदेशमा नियमको शिकार बनेपछि इन्द्रबहादुर तामाङले साम्पाङ एक्लै हुँदा उनलाई ५ वर्ष अघि देखि खानेपानी आन्दोलनदेखि चुनाव प्रचारमा आँट भरोसा दिएको सम्झिए । भने ‘मेयर साम्पाङ अभियान्ता हुँदा आर्थिक अभावमा छटपटिँदा उनलाई लेबर काम गरेको पाईसाले ‘माईक’ किनिदिएको थिएँ ।’
चुनावको बेला साम्पाङले भन्थे ‘मेयरको चुनाव के जितिन्छ , जित्दीन होला हा ।’ त्यति बेला ‘आँट साहस र हौसला गर्नुपर्छ हरेस खानु हुँदैन’ भन्दै लेबर काम सकेर होस या काम छोडेर पनि आन्दोलन र चुनावमा उनी सँगै हिँडेको बताए ।
तामाङले हर्क साम्पाङको अभियानमा हुँदा देखि हाल सम्म पानीको बिल तिरेका थिएनन् । तामाङले भने ‘साम्पाङले नै पटक पटक बिल मिलान गर्छु भनेकाले रकम तिरेको थिइन ।’
साम्पाङ मेयर भएको डेढ महिना पछि २०७९ साउन पहिलो साता र मेयर भएको १ वर्ष पछि समेत महसुल मिलाउने कुरा गरेका थिए । तर चैत २९ गते शुक्रवार त्यही कुरा गर्न पुगेका उनलाई कार्यकक्षबाट नगर प्रहरी लगाएर गलहत्त्याएर निकाल्दा तामाङलाई छाँगाबाट खसे जस्तो भयो ।
उनले भने ‘मेयर साम्पाङले तिर्नु पर्छ भनेको भए म तिर्ने थिए तर उनले कहिल्यै तिर्नु पर्छ भनेन ।’ उनले नै अभियान्ता हुँदा हावा मात्र आएको र मूल्य बढेको रकम नतिर्ने भन्दै हामीलाई आन्दोलनमा सहभागी गराएका थिए ।
तामाङले भने ‘म मात्र थिइन महसुल नतिर्ने हामी थुप्रै साथी थियौँ, तर अहिले मेरो यस्तो हविगत बनायो ।’
तामाङको २०७७ पुष देखि २०८१ चैत मसान्त सम्मको पानीको महसुल ३० हजार ५८५ र हालसम्मको जरिवाना ११ हजार ५०९ रुपया थियो । मेयर साम्पाङले नयाँ वर्षको बिदाको दिन वैशाख १ गते नगर प्रहरी पठाएर विना पूर्व सूचना, खानेपानी ऐन विपरीत धारा काटिदिएका थिए ।
वैशाख २ गते मङ्गलवार बिहान काटिएको धाराबाट ‘मोटर’ लगाएर पानी खाएको भन्दै नगर प्रहरी सहित खानेपानीको कर्मचारी पठाएर पाईप कुच्च्याएका थिए । खानेपानीको कर्मचारी सहित नगर प्रहरीको टोलीले मेयर साम्पाङको आदेश भन्दै खानेपानीको पाईप कुच्याईदिएको उनको भनाई छ ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा मटरबाट पानी तानेर पानी खाए बापत ७ हजार जरिवाना लगाएको स्ट्याटस लगाएका थिए । मङ्गलवार बिहान प्रहरीले तामाङलाई पक्रेर कानुनी दायरामा ल्याउनु इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुसंग पटक पटक फोन गरेका थिए ।
मेयर साम्पाङको आदेश अनुसार डिएसपी जवेगुले तामाङलाई फोन सम्पर्क गरी इलाका बोलाए । तामाङ इलाका प्रहरी कार्यालय गए । प्रहरीले तामाङलाई ५ घण्टा राखेर सोधपुछ गरी साँझ साढे ७ बजे ४ बुदे सहमति गराई छोड्दिएको थियो ।
छलफलमा तामाङले हाल सम्मको पानीको बिल २ किस्ता गरेर तिर्ने । खानेपानीको कर्मचारीलाई अभद्र बोलेकोमा तामाङले माफ माग्ने । दिनको ७ हजार जरिवाना नलिने सहमति भएको थियो ।
छलफलमा खानेपानी कर्मचारीले मेयर साम्पाङको ठाडो आदेशमा धारा कटान भएको बताए । साथै खानेपानीको महसुल ५० हजार सम्म नतिरेमा मात्र काट्नु पर्ने प्रावधान रहेकोमा अब आइन्दा सूचना दिने, आदेशको भरमा अत्यावश्यक खानेपानीको धारा नकाट्ने सहमति भएको छ ।
इलाका प्रहरी बाहिर आएपछि तामाङले भने ‘५ वर्ष दिएको साथले आज पूर्णता पायो, धन्यवाद साथी मेयर हर्क साम्पाङ ! हिजोको गुन आज राम्ररी तिर्यौ।’
खानेपानी ऐन नियम विपरीत धारा कटान
नगर प्रमुख साम्पाङले खानेपानी नियम र कार्यविधि विपरीत तामाङको घरको धारा काटेका थिए । खानेपानी संस्थान ऐन २०४६ तथा विभागीय नियमावली अनुसार संस्थाले पहिले लिखित चेतावनी दिएर पनि महसुल भुक्तानी नगरेको अवस्थामा मात्र धारा काटिने व्यवस्था छ ।
खानेपानी तथा सरसफाइ सेवा महसुल तथा सेवा शुल्क निर्धारण सम्बन्धी कार्यविधि २०८१ बमोजिम उपभोक्ताले खानेपानी महसुल नतिरेको खण्डमा, संस्थाले पूर्व सूचना दिएर मात्र काट्ने व्यवस्था छ ।
तर इन्द्रबहादुर तामाङको धारा नगर प्रमुख साम्पाङले प्रतिशोधपूर्ण व्यवहार गर्दै ठाडो आदेशमा नगर प्रहरी लगाएर काटेका थिए । साम्पाङ खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भएकाले ऐन र नियम पालना गर्न जरुरी थियो ।