धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङसँग गुनासो गर्न पुगेका आफ्नै सहयोगी र समर्थकहरूलाई कार्यकक्षबाट नगर प्रहरी लगाई तान्दै निकालेका छन् । उक्त घट्नाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
धरान-१५ का इन्द्रबहादुर तामाङ र धरान-१ का बिहानसिंह श्रेष्ठ गत शुक्रवार प्रमुख साम्पाङकाे कार्यकक्षमा उनी अभियन्ता हुँदा उनले गरेको ‘आव्हान’ अनुसार खानेपानीको महसुल नबुझाई बस्दा अहिले धारा काटिन लागेको गुनासो गर्न पुगेका थिए ।
अभियन्ता हुँदाका साथी गलहत्याइएका इन्द्रबहादुर तामाङले भने ‘हामी मेयर साम्पाङको आजको मात्र समर्थक होइनौँ, हिजो कसैले नपत्याउँदा खेरी ५ वर्ष अगाडीका समर्थक हौँ ।’
आज पो उनी नगर प्रमुख भए हिजो कोही साथमा नहुँदा त हामी नै उनको समर्थक थियौँ भन्ने उनको भनाई छ । उनले भने ‘हिजो उसँग पैसा नहुँदा आफूले छोराछोरी, परिवारको ईच्छा मार्दै ‘लेबर काम गरेर आएको पैसाले ‘माईक’ किनिदिएको थिएँ ।’ तर आज उनले बिर्सिए, अभियान्ता हुँदाका बखत साम्पाङले भनेको कुरा उद्धृत गर्दै ‘म मेयर भएपछि तपाईँहरूलाई काम लगाई दिन्छु मलाई सहयोग गर्नुहोस्’ भनेको तामाङले स्मरण गरे ।
साम्पाङलाई साथ दिएर उनको अभियानमा खानेपानीको आन्दोलन गर्न र धरान-१ का बिहानसिंह श्रेष्ठ, पूर्ण गहतराज, मिनिन्द्र नेपाली, अशोक बज्राचार्य समेत हिँडेका बताउँदै तामाङले खानेपानीको आन्दोलनमा हिँड्दा उनै साम्पाङले खानेपानी बोर्डले बढाएको रकम, हामी मध्ये कसैले पनि बढेको बिल नतिरौँ भनेर सर्त गरेको स्मरण गरे ।
उनले भने ‘सोही अनुसार हामी बिहानसिंह श्रेष्ठ, पूर्ण गहतराज, मिनिन्द्र नेपाली, अशोक बज्राचार्यले खानेपानीको महसुल तिरेका थिएनौँ ।’ महसुल नतिर्दा धारा काटिन लागेपछि साम्पाङका समर्थहरूमध्ये तामाङ र श्रेष्ठले शुक्रवार प्रमुख साम्पाङलाई पुरानो कुरा सम्झाउन पुगेका थिए ।
तामाङका अनुसार साम्पाङले गरेकाे आव्हान अनुसार महसुल नतिर्दा अशोक बज्राचार्यले पसलको नामको धाराको बिल १ लाख ५० हजार तिर्नु पर्यो । तर बाँकी ४ जनाले नतिरेपछि बिल बढदै गयो आर्थिक पहुँचले नपुग्ने भयो ।
साम्पाङ नगर प्रमुख भएपछि ज्ञापन पत्र बुझाउँदै सम्झाउँदा उनले ‘हुन्छ म गर्छु भने तर मेयर भएको १ वर्ष पछि पनि दोस्रो पटक पनि डेलिगेसन गयौँ त्यस बेला पनि हुन्छ भने, मिलाउँछन् होला भनेर बसी रह्यौँ ।’
तर बिहीबार (चैत २७) मिटर रिडर आएर धारा काटिदिन्छौ भने पछि शुक्रवार प्रमुखको कार्यकक्ष पुगेर साम्पाङ सँग सामान्य कुराकानी हुँदै गर्दा एक्कासि उनले नगर पुलिस लगाएर गलहत्त्याउँदै लछारपछार गरेर बाहिर निकालेको तामाङले बताए । उनले भने ‘मेरो ४३ हजार बिल आएको छ, बिहानीको ३९ हजार बिल छ, यो रकम हाम्रो तिर्ने पहुँच भन्दा बढी छ ।’
नक्कली ठेकेदारबाट काम गराएको आरोप
अभियान्ता हुँदाकाे समयमा साम्पाङकै आव्हान अनुसार नतिरेको महसुल मिनाहा गर्न जाँदा गलहत्याएर कार्यकक्षदेखी निकालेर उल्टै ठेक्का नपाएर हल्ला गर्यो भनी आफूमाथि आरोप लगाएको बताउँदै तामाङले नगर प्रमुख साम्पाङले नक्कली ठेकेदार खडा गरेर आफूलाई काम लगाएको प्रत्यारोप लगाए । उनले भने ‘मेयर हर्क साम्पाङ र उनकै सचिवालयले ठेकदार खडा गरी सामान्य कामदार मलाई स्वकीय सचिव सुदर्शन लिम्बू मार्फत जबरजस्ती ठेकेदार देखाएर काम लगाए ।’
तामाङका अनुसार धरान-५ मा निर्माणाधीन बहुजातीय सङ्ग्रहालयको घेराबेरा गर्न कसैले ठेक्का लिन नमानेपछि मेयर साम्पाङले नै सचिवालयलाई फोन गर्न लगाएर आफूलाई जबरजस्ती ठेकेदार बनाएर काम गर्न लगाएका थिए ।
उनले भने ‘मेयरको स्वकीय लिम्बूले फोन गर्दै तपाईँलाई मेयर सापले फोन गर्नु भनेर गरेको हो, तुरुन्त आउनुस् भनेपछि मेयरको सचिवालय गएको थिएँ ।’ सचिवालयमा मेयरका स्वकीय लिम्बूले नै ‘धरान-५ मा रहेको सङ्ग्रहालयको ठेक्का लिनुस् हामी तपाईँलाई ठेक्का पारिदिन्छौ भने ।
उनले मेरो लाइसेन्स छैन, म सामान्य कामदार मात्र हुँ भनेर उपमहानगरपालिका देखी फर्केकाे बताए । तर भोली पल्टनै स्वकीय सुदर्शनले फोन गर्दै तपाई आउनुस् हामीले ठेकेदार तयार गरिसक्यौ तपाई काम मात्र गर्नुस् भनेको उनले बताए ।
४ लाख ७५ हजारको ठेक्का ३ लाख ८४ हजार भुक्तानी
तामाङले भने ‘म त कामदार जता काम भेट्यो तेतै गर्ने मान्छे थिएँ ।’ काम गर्नुस् भनेपछि काम सुरु गरेँ । ठेक्का ४ लाख ७५ हजारमा लागेको कागजपत्र थियो भन्ने सुनेँ । मैले ३ लाख ८४ हजार मात्र पाएँ भनी उनले बताए ।
'कसैले ठेक्का लिन नमानेपछि मैले सघाएको हुँ । आफूले अढाई सुते रडको ३ पिसको पिलर करिब ६ सय १५ वटा जति लगाएर घेरा बेरा गरेको छु ।' मैले काम गरेँ तर बिल भरपाई कसले बनायो थाहा नभएको उनको भनाई छ ।
तामाङले भने ‘मेयरको सचिवालयबाटै ठेकका लाग्यो, उतैबाट बिल भरपाई भयो, तर ठेकेदार काे हो मलाई थाहा भएन, यस्तो पनि काम हुन्छ त्यहाँबाट ।’ तर मेयर साम्पाङले उल्टै ठेक्कापट्टा माग्न आएको थियो नपाएपछि हो-हल्ला गर्यो भनी युटुबरहरुलाई बोलाएर भनेकोमा तामाङलाई चित्त दुःखेको छ । उनले भने ‘मैले काम गर्छु भनेको पनि थिइन जबरजस्ती काम गर्न लगाए हिजो उल्टै ठेक्का नपाएर हल्ला गर्न मेयर कक्ष आएको जुन आरोप लगाएका छन् मेयर साम्पाङले पुष्टि गर्नुपर्छ । मैले कहिले कहाँ कुन समयमा ठेक्का माग्न आएँ ?’



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)































































