धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उच्च अदालत विराटनगरले शिक्षा महाशाखा अधिकृत गणेश खतिवडालाई काम गराउनु भनी दिएको अन्तरिम आदेश नमान्ने भएका छन् ।
उच्च अदालतको आदेशप्रति उनले सामाजिक सञ्जाल मार्फत कडा प्रतिक्रिया जनाउँदै आदेशको अवज्ञा गर्ने स्ट्याटस लेखेका छन् ।
उनको स्ट्याटसमा भनिएको छ ‘उच्च अदालतले फेक बिल पेस गर्नेलाई काम गर्न दिनु भनी आदेश गरेको रैछ तर म कुनै पनि काम या भूमिका दिनेछैन । यो मेरो संवैधानिक अधिकार अदालतले खोस्न सक्दैन ।’
२०८० सालको कक्षा ८ को परीक्षा सञ्चालन गर्दाको खाजा/खाना खर्चको बिल ‘फेक बिल’ पाइएको विषयमा शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गणेशप्रसाद खतिवडा दोषी भएको प्रमुख साम्पाङको आरोप छ ।
उक्त आरोपमा खतिवडालाई निलम्बन गर्न प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौंलागाइ निर्देशन दिएका थिए । उनले कारबाहीको पत्र नलेखेपछि प्रमुख साम्पाङ स्वयंले खतिवडालाई पत्र काटेर बिदामा बस्न निर्देशन दिएका थिए ।
नगर प्रमुखले 'बिदामा बस्नु' भनी गरेको पत्राचार विरुद्ध अधिकृत खतिवडाले वैशाख ५ गते उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए ।
रिटमा सुनवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले वैशाख ७ गते आइतबार मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल सम्म नगर प्रमुखको पत्राचार कार्यान्वयन नगर्नु/नगराउनु काम गर्न नरोक्नु भनी उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालतको उक्त आदेशलाई नगर प्रमुख साम्पाङले सामाजिक सञ्जालमा स्ट्याटस मार्फत ‘म कुनै पनि काम या भूमिका दिनेछैन । यो मेरो संवैधानिक अधिकार अदालतले खोस्न सक्दैन ।’ भनी चुनौती दिएका हुन ।
के हो फेक बिलको कुरा ?
२०८० साल चैत्र १ देखि ३० गते सम्म धरानका विद्यालयहरूका कक्षा ८ को परीक्षा अनुगमन तथा उत्तर पुस्तिका परीक्षण गर्दा उपमहानगरपालिका भित्र रहेको क्यान्टिनमा १७ हजार ५६५ को भएको थियो ।
तर शिक्षा महाशाखाले अन्यत्रको होटेलबाट ५६ हजार रुपैयाँको बिल लेखा शाखा पेशमा गरेको पाइयो ।
क्यान्टिन सञ्चालकले कक्षा ८ को परीक्षाको उत्तर पुस्तिकाको कपि कट्दा मेरै होटेलमा खाएको बताएको अवस्थामा ५६ हजारको बिल पेस भएपछि विवाद बढेको हो ।
प्रमुख साम्पाङले शिक्षा शाखा प्रमुख खतिवडा सहित क्यान्टिन सञ्चालकलाई तथ्य कुरा बुझ्न प्रमुखको कार्यकक्षमा बोलाई छलफल गरेका थिए ।
फेक बिलको विवादको बारेमा नगर प्रमुखसँग भएको छलफलको निष्कर्ष सार्वजनिक नभए पनि प्रमुख साम्पाङले फेसबुकमा स्ट्याटस लेखेका थिए । त्यसमा भनिएको थियो ‘फेक बिल पेस गरेको कसुरमा एक जना कर्मचारीलाई निलम्बन गर्दैछु । जय धरान ।’
अधिकृत खतिवडाको जिकिर
शिक्षा अधिकृत खतिवडाले फेक बिलको जिम्मेवार आफू नभएको कुरा उच्च अदालत विराटनगरमा दिएका रिटमा उल्लेख गरेका छन् । रिटमा महाशाखाबाट कक्षा ८ को परीक्षामा खटाइएको कर्मचारी आफू नभई अधिकृत मनोज भट्टराई रहेको उल्लेख छ ।
तर नगर प्रमुखले आफू माथि प्रतिसोधको भावना राखी परीक्षा सञ्चालनका क्रममा खाजा खाएको होटेलको बिलको विषयलाई लिएर कुनै खास होटेल सञ्चालकको प्रभावमा परि आफू माथि अन्याय पूर्ण पत्राचार गरेको रिटमा जिकिर गरेका छन् ।