धरान : समाचार लेखेकै आधारमा कपुरी न्यूजकी पत्रकार रश्मी प्रधानलाई धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौंलागाईले फोनबाट गालीगलौज गरेका छन् ।
उनले अबदेखि समाचार नलेख्न भन्दै प्रधानको पत्रकारिता र कपुरी पत्रिका बन्द गर्ने धम्की समेत दिएका छन् ।
शिक्षा महाशाखाका अधिकृत गणेशप्रसाद खतिवडालाई नगर प्रमुख हर्क साम्पाङले निलम्बन गर्ने भनी फेसबुकमा स्ट्याटस लेखेपछि त्यस सम्बन्धी प्रकाशित समाचार लेखेको भनी अधिकृत चौलागाईले धम्की दिएका हुन ।
कार्यालयमा काम गर्ने वातावरण नभएको बेला समेत मिलाएर काम गरेको यस्तो परिस्थितिमा पनि पत्रकारले पनि साथ नदिएको भन्दै उनले कर्मचारीलाई काम गर्न निरुत्साहित गर्ने खालका समाचार लेख्ने हो ?
कार्यालयमा वातावरण बिग्रेका बेला कसरी काम गर्दैछ राम्रो काम गरेको छ भनेर समाचार नलेख्ने अनि मान्छेको परिस्थिति नबुझी समाचार लेखेकोमा पत्रिका बन्द गर्दिन्छु भनी धम्की दिए । उनले मुख्यमन्त्रीको कार्यालय अगाडी लगेर घुँडा धसाउने सम्मको धम्की दिएका छन् ।
फोनमा उनले पित्त पत्रकारिता गरेको, केही केस घटेमा दुरुत्साहनको मुद्दा लगाउने धम्की दिए । उनले कलम गलत ढङ्गले नलेखी कर्मचारीको राम्रो कुरा मात्र लेख्नु पर्ने बताए ।
वातावरण बिग्रेका कुरा चैँ नलेख्ने, राम्रो कुरा चैँ नलेख्ने भन्दै उनले ईमान्दर भएर समाचार नलेखे पत्रिका बन्द गर्दिन्छु भनी दोहोर्याए । चौलागाईले बिहान उठेको सुतेको समाचार समेत युट्युबमा हालेको भन्दै युट्युबले समाज भाडेको भन्दै गाली गर्दै युट्युब समेत बन्द गरिदिने बताए ।
उनले रेकर्ड गरेर राख्नु, केके भनेर लेख्नु छ लेख्, कसरी लेख्छस् हेर्छु भन्दै धम्की दिए । कहाँ जानु छ बयान गर्न म जान्छु । 'फोन राख, जे गर्न छ गर' भन्दै धम्काए।
उनले कार्यालयमा नगरप्रमुख हर्क साम्पाङ लगायत जनप्रतिनिधिको प्रेसर भएका, कर्मचारीहरूले कसैलेपनि साथ नदिएको अवस्थामा पनि काम मिलाएर गरिरहेको बताउँदै कार्यालयमा काम गर्ने वातावरण नभएको बेला पत्रकारले साथ नदिएको बताए ।
गत चैत्र २६ गते कपुरी अनलाइनले नगर प्रमुख हर्क साम्पाङले उपमहानगरपालिकाका कुन कर्मचारीलाई निलम्बन गर्न लागेका
हुन ? शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
समाचारमा प्रमुख प्रशासकीय अधिकृत चौलागाँईसँग फोन सम्पर्क गर्दा उनले ‘यस बारेमा मलाई केही थाहा छैन ।’ भन्दै ‘तपाईँ मार्फत थाहा पाएकोले चाडै बुझ्ने’ बताएका थिए ।