दमक : झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएको टोली सवार  गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि नगरपालिकाको एक जना कर्मचारीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
भ्रमणबाट फर्कँदै गरेको गाडी उदयपुरको कटारी नजिक दुर्घटना हुँदा दमक नगर पालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुन अधिकृतको रूपमा कार्यरत कर्मचारी माधव बस्नेतको ज्यान गएको हो ।
दुर्घटनामा परि वडाध्यक्ष सहित अन्य ५ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचार पछि घाइतेहरूको थप उपचारका लागि विराटनगर स्थित अस्पताल रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।
प्रजिअ लुइँटेलका अनुसार दमक वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अवस्था केही जटिल भए पनि अन्य ४ जनाको अवस्था भने खतरामुक्त रहेको छ ।
घाइते हुनेमा नवीन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गौतम रहेका छन् । गत वैशाख १२ गते शुक्रवारका दिन स्थानीय तहको न्यायिक सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा गएको मे १ च ३०४० को स्करपियो गाडी आफै अनियन्त्रित भई मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६ सोमबारे भन्ने स्थानमा दुर्घटना भएको उदयपुरका प्रहरी नायव उपरीक्षक कमल बजगाईँले जानकारी दिए ।
सवा ४ बजे तिर भएको दुर्घटनामा चालक बाहेक अन्य घाइते भएको बताइएको छ । चालक देवेन्द्र तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।