धरान : प्रहरीले धरानको ३ ठाउँमा डेरा लिएर बसेका छुट्टाछुट्टै ठाउँबाट लागुऔषध सहित ६ जानलाई शुक्रवार राती डेरामा छापा मारेर पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धरान-१ शीतल मार्गमा डेरा गरी बसेका भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ, ३१ वर्षीय सागर राइलाई कोठामा लुकाई छुपाई राखेको प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूबाट ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, निट्राजीपाम, अर्मोनिक गरी १० हजार ३ सय १५ पिस बरामद गरेको छ । साथै ब्राउन सुगर १ ग्राम ७६० मिलिग्राम र नगद रुपैयाँ २ लाख ५३ हजार ७ सय ९६ रुपैयाँ बरामद भएको छ ।
वडा प्रहरी कार्यालय धरानले धरान-१५ लक्ष्मण मार्गमा डेरा गरी बसेका जनकपुरका २५ वर्षीय राहुल साह र श्रीमती २४ वर्षीया लक्ष्मी राई लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूको कोठाबाट ट्रामाडोल ५ हजार ५० क्याप्सुल बरामद गरेको छ ।
यसैगरी धरान-१७ सियोन मार्गमा डेरा लिई बसेका ४० वर्षीया ममता भगतलाई लागुऔषध सहित पक्राउ गरिएको छ । प्रहरीले उनको कोठाबाट ट्रामाडोल, २० स्पास्पेन, ओपाडेल गरी ६ हजार २ सय ८५ चक्की लागुऔषधी बरामद गरेको छ ।