धरान: नेपालमा प्रत्येक वर्ष करिब १ हजार ४९३ जना महिला पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।
औसत दैनिक ४ जना महिलाको मृत्यु हुने पाठेघर क्यान्सर न्यूनीकरणका लागि प्रभावकारी स्वास्थ्य सेवा रणनीति भने बन्न नसकेको २०५ औ अन्तर्राष्ट्रिय नर्सिङ तथा मिडवाईफ दिवसमा स्वस्थ्यकर्मीहरुले बताएका छन् ।
उक्त अवसरमा आज सोमवार आयोजित निःशुल्क स्तन एवं पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविरमा ३० महिलाको जाँच गरिएको छ । शिविर जनचेतना मूलक कार्यक्रमको रूपमा सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन कार्यक्रममा बिपी प्रतिष्ठानकी मेट्रोन, नेपाल नर्सिङ सङ्घ धरानकी अध्यक्ष कला थापाले अन्तर्राष्ट्रिय मिडवाईफ दिवस धरानमा पहिलो पटक मनाइएको बत्ताइन् ।
महिलाहरूको गम्भीर रोगको न्यूनीकरणका लागि एक घर एक नर्स उत्पादन गर्नु पर्नेमा जोड दिइन् । एसोसिएट प्रोफेसर नर्सिङ प्रशिक्षक गायत्री राईले नर्स र मिडवाईफ एउटै रहेको बताइन । उनले भनिन् ‘मिडवाईफबाट नै प्रसूति मृत्युदर घटाउन, नवजात शिशुलाई केयर गर्न सकिन्छ तर नेपाल सरकारले मिडवाईफको कोटा हाल सम्म निर्धारण नगरेको छैन ।’
उनले कोटा निर्धारण गरी प्रत्येक वडामा मिडवाईफ परिचालन गर्न सके प्रसूति मृत्युदर घट्ने दाबी गरिन् ।
प्रसूति मृत्यु दरवृद्धिसंगै विश्वमा प्रजननको मुख्य अङ्ग पाठेघरको मुखको क्यान्सर महिलाहरूको लागि ठुलो स्वास्थ्य समस्या बन्दै गएको छ । महिलाको पाठेघरको मुखको क्यान्सरबाट विश्वमा प्रत्येक वर्ष २ हजार १६९ जना मृत्यु हुने गरेका छ ।
नेपालको मृत्यु दरको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको मृत्यु दर घटाउने लक्ष्य भन्दा चार गुण बढी छ ।
धरान–१७ सुनौलो पुस्तकालय भवनमा भएको शिविरको उद्घाटन प्रमुख अतिथि धरान–१७ का वडाध्यक्ष सूर्य बहादुर भट्टराई मनोजले गरेका थिए ।
उनले वडामा महिला स्वास्थ्य चेतना बढाउन नर्सिङ सङ्घ र मिडवाईफहरुको सहकार्यमा शिविर आयोजना गरिएको बताए । वडाहरूमा मिडवाईफको घर घरमा पुग्न आवश्यक रहेको उनको भनाई छ ।
नेपाल नर्सिङसंघ तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई समितिको आयोजनामा भएको शिविरको संयोजन मिडसन कोशी प्रदेशले गरेको हो । कार्यक्रमको सभापतित्व मिडशन सङ्घ कोशी प्रदेशका अध्यक्ष प्रीति चौधरीले गरेको थिइन ।
शिविरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाकी दिपा अधिकारी, नर्सहरू तथा मिडवाईफहरु संलग्न थिए ।