इटहरी : स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी एक दिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । जेष्ठ ३ गते (शनिवार) बिहान ८ बजे इटहरीको रोयल रिसोर्टमा प्राविधिक परामर्श सेवा प्रदान गर्न लागिएको हो ।
घर निर्माण सहित समस्या रहित, दिगो र सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै इटहरीमा हुँदैछ ।
पछिल्लो समय इटहरीका घरहरूमा सिपेज, लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएको भन्दै त्यसको समाधानमा पहल गर्ने प्रयास गरिएको छ । स्किल सेवा प्रालिका शाखा प्रबन्धक सुगन्ध मिश्रका अनुसार घर निर्माण गर्नु मान सम्मान, प्रतिष्ठा र सौखको विषय बनिरहेको बेला सुरक्षित र बलियो घर बनाउन परामर्श दिन लागिएको हो ।
यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो । घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएका छन् ।
घर बनाउँदा ध्यान दिनुपर्ने विषय लगायत कमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिँदा विभिन्न किसिमका जोखिमहरू आउने गरेको मिश्रले बताए । यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ छ ।
घर निर्माण प्राविधिक त्रुटि र मापदण्ड प्रक्रियाबारे पनि यस कार्यक्रम मार्फत बुझ्न सकिन्छ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा सुरक्षित र दिगो हुने र प्रक्रियागत त्रुटि नहुने बताइएको छ ।
प्राकृतिक विपद्, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बनाउन परामर्श प्रदान गर्न लागिएको हो । स्किल सेवाले ७ वर्ष देखि घरका विभिन्न समस्याहरूको चेकजाँच र वारेन्टी सहित समाधान दिँदै आइरहेको छ । परामर्श निःशुल्क भएकाले सहभागिताको लागि अग्रिम जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।