धरान : अमेरिकावासी किरात राईहरूको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले किरात राईहरूको सांस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधाम सुप्तुलुङ्ग र साकेला भूमेथानको विधीवत रूपमा स्थापना गरेको छ।
उभौलीको अवसरमा १४ पेइग हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा हालै संस्थाले किनेको ८।०२ एकड क्षेत्रफलको भूमिमा मुन्दुमी विधि र प्रक्रियाबाट पूजा र अनुष्ठान गरी स्थापना थान गरिएको केन्द्रीय महासचिव मुक्ति राईले बताए ।
“युक्रा साकेला भूमेथान तथा सांस्कृतिक सुप्तुलुङ्ग घर”नामकरण गरिएको यो ठाउँ किराँती संस्कृति र आस्थाको तिर्थधाम बन्नेमा आफू विश्वस्त रहेको केन्द्रीय महासचिव राईले बताए। सिमसारको छेउमा अवस्थित जङ्गलको बिचमा साकेला थान र त्यसको वरीपरी सांस्कृतिक कार्यक्रम र साकेला सिली नाच्नको निम्ति ठुलो गोलाकार प्राङ्गणको निर्माण गरिएको छ। सुप्तुलुङ्ग (चुलाघर) भने साकेला थान प्रवेशद्वारको मुखैमा कृषि प्रयोजनको लागी निर्माण गरिएको घरभित्र स्थापना गरिएको छ।
नेपाली अमेरिकन किरात राईहरूको महत्वकॉक्षी योजनाको रूपमा रहेको साकेला थान तथा सुप्तुलुङ्ग मांङ्गखिम निर्माणको सपना पूरा भएको भन्दै यस अभियानका संयोजक तथा पूर्व अध्यक्ष विष्णु राईले खुसी व्यक्त गरे । न्युयोर्कबाट आएका ७५ वर्षीय नक्छुङ्ग पदम ब. राईले मुन्धुमी रिसिया गाउँदै र सिलीमोपा हरि राईको नेतृत्वको टोलीले मांङ्ग सिली नाचेर विधीवत रूपमा पूजा अनुष्ठान गरी स्थापना गरिएको पुर्वअध्यक्ष राईले बताए ।
उनले नेपाली अमेरिकन किरात राईहरूको निम्ति यो ऐतिहासिक काम भएका बताउँदै विभिन्न भाषी राईहरूले तीन चुलालाई सुप्तुलुङ्ग, दायाहुईलुङ्ग, बोकोलुङ्ग, सुप्तुलु जस्ता विभिन्न नामले पुकारे पनि आस्था, विश्वास र पूजा अनुष्ठान विधि एउटै भएकोले विवाद र दुबिधा नरहेको जानकारी दिए ।
किरात राईहरूको तिर्थधामको रूपमा रहेको तीनचुला (सुप्तुलुङ्ग) र साकेला भूमेथान स्थापनाको ऐतिहासिक उपलब्धिले अमेरिकी समाजमा हुर्किरहेका हाम्रा युवा पुस्ता र भविष्यका पीढीहरूलाई आफ्नो मौलिक संस्कृति र सभ्यतासँग व्यवहारिक रूपले परिचित गराउन र यसप्रति आस्था जगाउन यसको महत्त्वपूर्ण भूमिका रहने केन्द्रीय अध्यक्ष जय कु। राईले बताए ।
साकेला थान र चुलाघर ९सुप्तुलुङ्ग० निर्माणमा सक्रिय न्यु ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब। राईले यो ऐतिहासिक काम सकुशल सम्पन्न गर्न सकिएकोमा आफूलाई अत्यन्तै हर्ष र गर्व लागेको बताए । आगामी जुन १ मा उक्रा केन्द्रको संयोजन र न्यू ईङ्गल्याण्ड च्याप्टरको आयोजनामा हुने गइरहेको यस वर्षको ग्राण्ड साकेलाको तयारी पनि भव्य रूपमा भइरहेको प्रवक्ता शेखर राईले जानकारी दिए ।