सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकाले पालिकाभित्र ‘मिलेर बसेका’ उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने भएको छ ।

‘ढुकुर जोडी’ का रूपमा उनीहरूलाई सम्मान गरिने भन्दै नगरपालिकाले विभिन्न मापदण्ड राखेर सूचीकृत हुन सूचना जारी गरेको हो ।

नगरपालिकाको न्यायिक समितिमा पती-पत्नी बिचको झै-झगडा, इज्जतअनुसार खान-लाउन पाउनुपर्ने, लैङ्गिक हिंसा, गाली बेइज्जतीसम्बन्धी मुद्दा दिन-प्रतिदिन बढ्दै आएको हुनाले यस्तो कार्यक्रम ल्याएको उपमेयर अकली चौधरीले बताएकी छन् ।

सुखद दाम्पत्य जीवनयापन गर्दै आएका जोडीलाई सम्मान गर्दा त्यसले लैङ्गिक हिंसा र सम्बन्ध विच्छेदका घटना कम गर्न प्रोत्साहन गर्ने दाबी नगरपालिकाको छ ।

पछिल्ला वर्षमा नगरपालिकाको न्यायिक समितिमा श्रीमान-श्रीमतीको झगडाका १२६ वटा मुद्दा दर्ता भएको उपमेयर चौधरीले बताएकी छन् । २०७९/८० मा १९० मुद्दा आएकोमा ४१ वटा श्रीमान-श्रीमतीको झगडासँग सम्बन्धित रहेको जानकारी दिँदै उनले २०८०/८१ मा २१२ मध्ये ६२ र यो वर्ष ८२ मध्ये २३ वटा यस्तो उजुरी रहेको बताएकी छन् ।

नगरपालिकाकाले कम्तीमा १० वर्षअघि विवाह भएका र स्थायी रूपमा नगरपालिकामा बस्नेलाई ढुकुर जोडीका रूपमा सम्मान गर्ने जनाएको छ । त्यसको लागि श्रीमान् र श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, छोराछोरीको जायजन्म भएको भए जन्म दर्ता गरेको हुनुपर्ने, उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने, विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने, बुवा वा आमा/सासू वा ससुरासँग बसेको हुनुपर्ने तथा बुवा आमा वा सासू ससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, माया ममता गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।

यस्तै श्रीमान्-श्रीमतीको झगडा नभएको हुनुपर्ने र निरन्तर नेपालमै बसोबास गरेको आधारमा सम्मान गर्ने नगरपालिकाको सर्त छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले न्यूनतम सर्त पालना गरेर १० दिनभित्र वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेको बताए ।

नगरपालिकाले प्रकाशन गरेको मापदण्ड सम्बन्धी सूचना :

sundar harichha notice