धरान :  जल तथा मौसम विज्ञान विभागले आज बुधवार दिउँसो देशभर बदली रहने केही भूभागमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने जनाएको हो ।
विभाग अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
उच्च पहाडी तथा धरान आसपास वर्षा हुँदा यहाँका सर्दु, सेती, खहरे सहितका खोलाहरूमा बाढी आउने गरेको छ । यसै साता मात्र भएको वर्षा/बाढीले धरानका धेरै ठाउँमा क्षति पुर्‍याएको छ ।
जनजीवन प्रभावित हुनसक्ने बाढीबाट जोगिन खोला किनारका बासिन्दाले सतर्क रहन जरुरी छ ।