पौराणिक सन्दर्भमा शिवजट्टा : एक तपोभूमिको आख्यान
महाभारतकालीन किम्बदन्तीअनुसार शिवजट्टा त्यो स्थल हो, जहाँ भगवान् शिवले ध्यानस्थ भई आफ्ना जटा खोलेर पृथ्वीमा जल प्रवाह गराएका थिए र त्यही जटाबाट सेउती खोलाको उत्पत्ति भएको जनविश्वास पाइन्छ । यिनै पौराणिक तथ्यको आधारले यो स्थान हिन्दु धर्मावलम्बीहरूका लागि गहिरो श्रद्धा र आस्थाको केन्द्र बनेको छ । श्रद्धालुहरू यस खोलालाई गङ्गाको रूपमा पूजा गर्छन् र यहाँ स्नान गर्नु पुण्यदायक मानिन्छ ।
धार्मिक विश्वास र श्रद्धा प्रवाह
शिवरात्रि, हरितालिका तिज र विशेष पर्वहरूमा यहाँ हजारौँ भक्तजनहरूको ओइरो लाग्छ । भारत, नेपाल लगायत तेस्रो मुलुकका हिन्दु तीर्थयात्रीहरू यस स्थललाई 'सानो काशी'का रूपमा हेर्छन् । विशेष गरी धार्मिक अनुष्ठान, व्रत बस्ने, अभिषेक गर्ने, पूजाआजा तथा पारिवारिक संस्कारसम्बन्धी क्रियाकलाप गर्न यहाँ आउनेको सङ्ख्या बढ्दो छ । यसले शिवजट्टालाई केवल एउटा मन्दिर नभएर धार्मिक पर्यटनको समृद्ध सम्भावना भएको स्थल बनाएको छ ।
पुरातात्त्विक अवशेष र ऐतिहासिक गहिराइ
शिवजट्टा मन्दिर क्षेत्र वरिपरि विखण्डित मूर्तिहरू, शिलालेखहरू, ढुङ्गाका प्रस्तरकला, प्राचीन यज्ञ कुण्डहरू लगायतका अवशेषहरू पाइन्छन् । यिनले प्राचीन नेपालका सभ्यता र आर्य-किरात मिश्रित धार्मिक संस्कारको प्रमाण प्रस्तुत गरेको पाइन्छ । यदि गम्भीर पुरातात्त्विक अध्ययन तथा संरक्षण पहल गरियो भने यस क्षेत्रले नेपालकै धार्मिक ऐतिहासिक नक्सामा छुट्टै स्थान ओगट्ने सम्भावना राख्दछ ।
सेउती खोला
प्रकृतिको एक अनुपम देन, शिवजट्टाबाट निस्केको सेउती खोला केवल जलस्रोत नभएर धरान नगरको पर्यावरणीय सन्तुलन, जैविक विविधता, जनजीवन र कृषि प्रणालीमा प्रत्यक्ष योगदान पुर्याउने एक जीवन रेखा हो । खोलाको किनारमा हरियाली, जलचर प्रजाति र जलाशय व्यवस्थापन राम्रो भएमा यसलाई Eco-Spiritual Tourism को एउटा उत्कृष्ट उदाहरणका रूपमा अगाडि ल्याउन सकिन्छ ।
सम्भावनाहरूको दोबाटो : अब के गर्न सकिन्छ ?
शिवजट्टा मन्दिर क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै यसलाई धार्मिक, सांस्कृतिक र वातावरणीय पर्यटन गन्तव्यका रूपमा विकसित गर्नका लागि केही नीतिगत तथा भौतिक पूर्वाधार विकास नितान्त आवश्यक छन् ।
सडक तथा यातायात पहुँच- यस क्षेत्रसम्म पहुँचको लागि पक्की तथा चौडा सडक निर्माण गरी शिवजट्टासम्मको सहजता कायम गर्नुपर्छ । नियमित सार्वजनिक यातायात सेवा बस, ट्याक्सी र माइक्रो सञ्चालन हुनुपर्छ । मार्गमा स्पष्ट साइनेज र मार्ग निर्देशन सञ्जाल स्थापित गर्नुपर्छ ।
धार्मिक आवास सुविधा
तीर्थयात्रीहरूका लागि सस्तो, सफा र सुरक्षित लज तथा होटेलहरूको व्यवस्थापनको आवश्यक छ । मन्दिर क्षेत्रसँग जोडिएको धार्मिक आश्रमहरू बनाइ दीर्घकालीन वासको व्यवस्था गर्न सकिन्छ ।
स्वच्छता तथा सरसफाइ
फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन ठाउँ ठाउँमा ठुलो साइजको डस्टबिन राखिनु पर्छ । अपाङ्गमैत्री शौचालय, वालमैत्री सुविधा- सफा पिउने पानी जस्ता आधारभूत संरचना निर्माण अपरिहार्य छन् ।
धार्मिक जानकारी केन्द्र
मन्दिर परिसरमा सूचना केन्द्र स्थापना गरिनुपर्छ, जसबाट पर्यटकहरूलाई पौराणिक, ऐतिहासिक र सांस्कृतिक जानकारी दिन सकिन्छ । प्रशिक्षित धार्मिक गाइड सेवा उपलब्ध गराएर ज्ञानमूलक पर्यटन प्रवर्द्धन गरिनुपर्छ ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू
शिवरात्रि, तीज, एकादशी जस्ता पर्वहरूमा धार्मिक मेला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न सकिन्छ । यसले पर्यटकहरूको आकर्षण बढाउनुका साथै स्थानीय संस्कृति संरक्षणमा पनि टेवा पुर्याउँछ ।
पर्यावरणीय संरक्षण
खोला र वन क्षेत्र वरपर वृक्षारोपण अभियान सञ्चालन गरिनुपर्छ । सेउती खोलाको जैविक संरक्षण, प्रदूषण नियन्त्रण र बायोडाइभर्सिटी जोन घोषणाको पहल हुनुपर्छ ।
डिजिटल प्रचार प्रसार र ब्राण्डिङ
शिवजटृा र सेउती खोलाको इतिहास, आकर्षण र पर्यटन महत्त्व समेटिएको ब्रोसर, डकुमेन्ट्री, वेबसाइट तथा सामाजिक सञ्जाल अभियान सञ्चालन गर्न सकिन्छ । सरकारी गैरसरकारी साझेदारीमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन बजारमा प्रवेश गर्न सकिनेछ ।
स्थानीय उत्पादन र हस्तकलाको प्रवर्द्धन
स्थानीय हस्तकला, धार्मिक स्मारक वस्तु, चित्रकला, मूर्ति, खाद्य परिकारजस्ता सामग्रीहरूको पर्यटक बजार विकास गर्न सकिन्छ । यसले स्थानीय रोजगारी सिर्जना र आर्थिक समावेशीकरणमा टेवा पुर्याउनेछ ।
भविष्यको सम्भावना
शिवजटृा मन्दिर र सेउती खोलाको उद्गम स्थल केवल पूजनीय स्थल मात्र होइन यो पूर्वी नेपालको सांस्कृतिक गहना हो । यदि यस क्षेत्रको संरक्षण र विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वित प्रयास गरेमा, यसलाई नेपालकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा उभ्याउन सकिन्छ । यसले सांस्कृतिक पहिचानको संरक्षण गर्नको साथसाथै आर्थिक समृद्धिको मूलद्वार पनि खोल्दछ । अतः नीति निर्माताहरू, योजना आयोगहरू, स्थानीय सरोकारवाला निकाय र नागरिक समाज मिलेर यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सामूहिक पहल गर्नु अहिलेको आवश्यकता हो ।








































































