धरान : धरान-४ थाउजेन बुद्ध विहार नजिक मृत भेटिएकी इटहरी-२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको भिरालोमा लडेर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।

मृतक पौडेलको शव मङ्गलवार दिउँसो अढाई बजे धरान-धनकुटा सडक छेउमा भेटिएको थियो । घोप्टो परेर मृत्यु भएको अवस्थामा भेटिएको शवबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार घटना प्राथमिक रूपमा भिरालोमा लडेको आशङ्का गरिएको छ । उनले भने ‘उहाँको लडेर वा घिस्रेर मृत्यु भएको हुन सक्छ ।’ घट्नाबारे  विस्तृत अनुसन्धान सकिएपछि मात्र भन्न सकिने डिएसपी राईले बताए ।

मञ्जु कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । उनको परिवारले कात्तिक २७ गते इटहरी प्रहरीमा निवेदन दिएको थियो । मृत भेटिएकी शव मञ्जुको भएको परिवारजनले पुष्टि गरेको छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम खत्रीको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार मृत्युको वास्तविक कारण र घटनाको प्रकृति पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ । शव पोष्टमार्टमका लागि वीपी प्रतिष्ठानमा राखिएको छ ।

mahila-dead-2