धरान : खस समाज प्रतिष्ठानले आज शनिवार ९औँ स्थापना दिवस वनभोज सहित धरान-६ पानवारीमा मनाएको छ ।

प्रमुख अतिथि डा.केशर बहादुर विष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे प्रकाश पार्दै राष्ट्रगानका केही पङ्क्तिहरूले ऐतिहासिक यथार्थलाई पूर्ण रूपमा नझल्काउने बताए ।

उनले भने ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली पङ्क्ति सही भए पनि सार्वभौम भई फैलिएका मेची-महाकाली वाक्यांश ऐतिहासिक रूपमा मेल खाँदैन ।’ नेपालको भूगोल ऐतिहासिक रूपमा खुम्चिँदै गएको उनको भनाई थियो ।

पहिले पश्चिममा कुमाउँ-गढवाल, काँगडा र पूर्वमा टिस्टा सम्म नेपालको सिमाना भएको बताए । वर्तमान राजनीतिक अवस्था नेतृत्व विहीन र अराजकतापूर्वक अघि बढिरहेको उनले बताए । विष्टले भने ‘राजसंस्थाको पुनः स्थापनाको विकल्प छैन ।’

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार किशोर कुमार कार्कीले खस–क्षेत्री समुदाय सुतिरहेको सिंह भएको बताउँदै समुदाय विरुद्ध भइरहेका उत्तेजनात्मक अभिव्यक्तिबाट सजग रहनुपर्ने बताए ।

संयुक्त खस समाज केन्द्रीय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की, उपसचिव लक्ष्मी बानिया लगायतले खस समुदायको पहिचान, एकता र समसामयिक चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

उक्त अवसरमा प्रतिष्ठानलाई निरन्तर सहयोगी व्यक्तित्वहरू सहित कमला कटुवाललाई एमबीबीएस उत्तीर्ण गरेकोमा सम्मानित गरियो । अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बिरेस थापाले, सञ्चालन सचिव हिमाल कार्कीले गरेका थिए ।