मोरङ : लेटाङ नगरपालिका-२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा अभियुक्त पक्राउ परेसँगै उनको अन्त्येष्टि दुई महिनापछि सम्पन्न गरिएको छ।

गत २३ असोजमा बेपत्ता भएकी अंशु १८ दिनपछि जंगलमा मृतावस्थामा फेला परेकी थिइन्। परिवारले दोषी पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएपछि उनको शव लामो समयदेखि अस्पतालको शवगृहमै राखिएको थियो।

शुक्रबार प्रहरीले सोही क्षेत्रका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेपछि मंगलबार चिसाङ खोला घाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको हो। प्रहरीका अनुसार अधिकारीले अपराध स्वीकार गरेका छन्।