इटहरी : नेपाल प्रहरीको भवन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी भुक्तानी नपाएर समस्यामा परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको महिला प्रहरी भवन निर्माण सम्पन्न भएको डेढबर्ष सम्म पनि भुक्तानी नहुँदा समस्यामा परेका हुन् ।
बोहोरा एण्ड ब्रोदर्स कन्स्ट्रक्सन इनरुवाले महिला मैत्री संरचना (ब्यारेक, शौचालय, डे«स चेन्जीङ रुम, हिरासत कक्ष) निर्माणको जिम्मा पाएको थियो । २०७९ वैशाख २५ मा सम्झौता भएको भवनको काम २०८१ असारमै निर्माण सम्पन्न भएर साउन ४ गते हस्तान्तरण भयो ।
निर्माण व्यवसायी राजेश बेहोराले भुक्तानीको लागि २०८१ असारमै निवेदन दिइसकेका छन् । त्यसयता उनी बारम्बार प्रदेश प्रहरी कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धाइरहेका छन् । प्रदेश प्रहरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको श्रोतबाट ठेक्का खुलाएको थियो । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेख भए अनुसार प्रहरीले प्रक्रिया अगाडी बढाएको थियो । त्यसयता मन्त्रालयले अन्तिम भुक्तानीको लागि आर्थिक वर्ष २०८१÷८२ को बजेट समावेश नगरेपछि भुक्तानी हुन सकेन ।
कोशी प्रदेश प्रहरी कार्यालयले आन्तरिक मामिला मन्त्रालयलाई बजेट माग गर्दै भुक्तानीको लागि सहजीकरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा समेटिएको बजेटबाट भुक्तानी भए पनि थप भुक्तानीको लागि मन्त्रालयले बजेट नै विनियोजन गरेको छैन ।
२०८१ माघ २३ गते तत्कालीन प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले भुक्तानीको लागि बजेट व्यवस्थापन गर्नको लागि आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गर्यो । त्यसपछि तत्कालीन प्रहरी प्रमुख डिआइजी हालका एआइजी ईश्वर कार्कीले २०८२ साल साउन १८ गते पुनः पत्राचार गरे । ३० लाख ५२ हजार भुक्तानी गर्नुपर्ने भएकाले बजेटको व्यवस्थापनको लागि उनले निर्माण कार्य सम्पन्नको १७ पन्ने प्रतिवेदन सहित पठाए ।
उता आन्तरिक मामिला मन्त्रालयले भने मन्त्रिपरिषद्को निर्णय पछि बजेटको व्यवस्था गर्ने र कार्यान्वयनको लागि पहल गर्ने बताएको छ । मन्त्रालयले बजेट नपठाएपछि प्रहरीले भुक्तानी दिन सकेको छैन । यता व्यवसायी बेहोराले भने आर्थिक चाप बढ्दै गएको बताएका छन् ।



































































