धरान : पत्रकारहरूलाई दुर्व्यवहार, गाली गलौज गर्दै आएका पूर्व नगर प्रमुख हर्क साम्पाङले पत्रकार महासङ्घसँग तोडेको सहकार्य कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पुनः सुचारु गर्ने बताएका छन् ।
प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्की सहितको टोलीले बिहीबार कावा प्रमुख बेघालाई बधाई सहित बुझाएको ४ बुँदे अनुरोध पत्रको जवाफमा उनले महासङ्घसँगको सहकार्य पुनः सुचारु गर्न प्रतिबद्धता जनाएका हुन । 
बेघाले भने ‘मेरो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन नदिने प्रतिबद्धता जनाउँदछु ।’ धरानमा पत्रकार सुरक्षालाई प्राथमिकतामा राखिने र प्रेसमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार अन्त्य गरिने उनले बताए । 
उनले यसअघि हर्क साम्पाङले रोकेको सञ्चार गृहलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन तथा रोकिएका सुविधाहरू पुनः सुचारु गरिने बताए । 
पत्रकार महासङ्घको सहकार्यमा पत्रकारहरूलाई प्रदान गरिँदै आएको फेलोसिप लेखन–वृत्ति लगायतका सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै उनले स्थानीय सञ्चार माध्यमको संरक्षण र सुदृढीकरणका लागि नेपाल पत्रकार महासङ्घसँग समन्वय गरी ठोस योजना बनाइने बताए ।
नेपालको संविधान अनुसार स्थानीय सरकार धरान उपमहानगरपालिकाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गरिने नगर प्रमुख बेघाले बताए । स्थानीय सरकारलाई सही दिशामा हिँडाउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ । 
पत्रकार गोपाल दाहाल धरानबाट विस्थापित हुनुपरेको घटनालाई लज्जास्पद र दुर्भाग्यपूर्ण भएको बताउँदै कावा प्रमुख बेघाले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूलाई उपमहानगरपालिका भित्र रहेका विकृति र विसङ्गतिहरू निर्धक्क रूपमा सार्वजनिक गर्न आग्रह समेत गर े।
उनले भने ‘उपमहानगरपालिकाले खाएको एक कप चियाको हिसाब समेत नागरिकले थाहा पाउनुपर्छ ।’ कुनै पनि शाखा वा महाशाखाबाट जनतालाई दुःख दिने काम भएको प्रमाण सहित जानकारी आए तत्काल कारबाही गरिने उनको भनाइ छ । 
प्रेस सेन्टर केन्द्रीय सदस्य जनक ऋषि राईले पत्रकार गोपाल दाहाल विस्थापित हुनुपरेको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना दोहोरिन नदिन स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए ।
यसैबिच, प्रेस सेन्टर नेपाल, सुनसरीले विगतमा पत्रकारमाथि भएको गालीगलौज र धम्कीपूर्ण व्यवहारले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिपको निरन्तरता र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न स्थानीय सरकारसँग माग गरेको छ।
press-center-11