धरान : धरान खानेपानी व्यवस्थापन बोर्डको गतिविधिहरू यस अघिका अध्यक्ष हर्क साम्पाङले गोप्य राखेको जस्तो नहुने कार्यवाहक अध्यक्ष अइन्द्रविक्रम बेघाले बताएका छन् ।
धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको पद बहाली गरेपछि बिहीबार खानेपानी व्यवस्थापन बोर्डको कार्यवाहक अध्यक्षको पद बहाली गर्न पुगेका बेघाले भने ‘धरानको पानी अब गोप्य हुँदैन, पारदर्शिता भाषणमा होइन, व्यवहारमै देखिन्छ ।’
उनले धरानको खानेपानी व्यवस्थापन अब गोप्य नहुने घोषणा गरेका हुन । अब कुनै कुरा गोप्य नराखिने घोषणा गर्दै कावा मेयर बेघाले भने ‘खानेपानीको स्रोत, वितरण र आम्दानी–खर्च सम्बन्धी सम्पूर्ण विवरण धरान बासी जनताको अघि सार्वजनिक गरिने छ ।’
खानेपानी अभावका कारण धरानवासी निरन्तर पीडित रहँदै आएको र तयारी अवस्थामा रहेर पनि वितरण नगरिएको ५० लाख लिटर पानीबारे नागरिकले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै कावा प्रमुख बेघाले तत्काल सुधारको प्रतिबद्धता जनाएका छन् ।
धरानमा कुन–कुन स्रोतबाट कति पानी उत्पादन हुन्छ ? कहाँ कहाँ कसरी र कति वितरण हुन्छ ? र त्यसबाट कति राजस्व सङ्कलन हुन्छ भन्ने तथ्याङ्क छिट्टै सार्वजनिक गरिने छ । पुराना र नयाँ बोरिङको अवस्था, क्षमता र उपयोगबारे विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताए ।
कावा प्रमुख बेघाले भने ‘खानेपानी बोर्डको आम्दानी र खर्च मासिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ सुशासन र जबाफदेहीताका लागि खानेपानी वितरणमा कुनै पनि प्रकारको भेदभाव नहुने कसैको दबाब वा प्रभावमा परेर पानी वितरण नगरिने उनले बताए ।
बेघाले चैत महिना कति पानी आउँछ अहिले कति आउँछ तथ्य सहितको हिसाब किताब स्पष्ट भएपछि पत्रकार सम्मेलन मार्फत सबै विवरण सार्वजनिक गरिने बताए । प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको डिप बोरिङ परियोजना पनि चाँडै सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
धरानका नागरिकहरूले ५० लाख लिटर पानी आउने तयारी बोरिङलाई ‘बिर्को लगाएर राखेर’ पनि वितरण नगरिएकोमा कडा असन्तुष्टि जनाएका छन् ।
धरानका अभियन्ता महेश श्रेष्ठले खानेपानी समस्या धरानवासीका लागि “घर–घरको मुद्दा” भएको उल्लेख गर्दै उक्त बोरिङ स्थलबाट तत्काल खानेपानी आपूर्ति गर्न नागरिक समाजको टोली सहित उपमहानगरपालिका कार्यालयमा कावा प्रमुखसँग माग गरेको छन् ।