इटहरी : इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा पाँच करोड रुपैयाँको लागतमा छात्रावास निर्माण हुने भएको छ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट विनियोजन गरी पहिलो किस्ताको रकम निकासा गरेसँगै निर्माण प्रक्रिया अघि बढेको हो।
क्याम्पसको १३ औँ परिषदसभा उद्घाटन समारोहमा बिहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले नक्सा पास भई माटो परीक्षण सम्पन्न भइसकेको र ठेक्का प्रक्रियामा क्याम्पस गएको जानकारी दिए। उनका अनुसार छात्रावास निर्माणको पहिलो चरणमा एक करोड ४२ लाख रुपैयाँ बराबरको काम सुरु हुँदैछ। छात्रावास निर्माणपछि पूर्वी पहाडी जिल्ला तथा मधेस प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
परिषदसभामा पछिल्लो अढाई वर्षयता विद्यार्थीका लागि सात वटा बस सेवा सञ्चालन गरी निःशुल्क सेवा प्रदान गरिएको जानकारी दिइयो। बस सेवामार्फत सुनसरीको बराहक्षेत्र, दुहबी, इनरुवा तथा पूर्वी मोरङको विराटचोकसम्मका विद्यार्थीलाई सुविधा पुगेको जनाइएको छ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त एक करोड रुपैयाँ अनुदानबाट क्याम्पसको मूल भवन पछाडि थप भवन निर्माण गरिएको छ। भौतिक पूर्वाधारतर्फ कोशी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा कम्पाउण्ड वाल, स्ववियू भवन निर्माण, इ–ब्लकको दोस्रो तल्ला पूर्ण र तेस्रो तलाको छत निर्माण गरिएको अध्यक्ष केसीले बताए। साथै, खानेपानी फिल्टर जडान, सिसी क्यामेरा, इ–हाजिरी, स्मार्ट बोर्डमार्फत प्रविधिमैत्री कक्षा सञ्चालनलगायतका काम सम्पन्न भएका छन्।
केसी नेतृत्वको टिमले विषयगत विभाग व्यवस्थित गर्न १० थान कम्प्युटर खरिद, इन्टरनेट पहुँच विस्तार, पोखरी सुधार, ड्रेन निर्माण, क्याम्पसमा नर्सको व्यवस्था, जर्नल प्रकाशन तथा सफ्टवेयर प्रणाली सञ्चालन गरेको जनाएको छ।
क्याम्पसले छ महिनाअघि भारतका दुई प्रतिष्ठित विश्वविद्यालयसँग शैक्षिक सम्झौता गरेको थियो। हरियाणास्थित बाबा मस्त नाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जे जेटी विश्वविद्यालयसँग भएको सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनसमेत आयोजना गरिएको थियो।
६९ विद्यार्थीलाई छात्रवृत्ति वितरण
परिषदसभा उद्घाटनका क्रममा ६९ जना विद्यार्थीलाई एक लाख ९७ हजार ३५० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ।
क्याम्पस प्रमुख डा. गीता अधिकारीका अनुसार २० जना दाताले स्थापना गरेको अक्षयकोषको ब्याज तथा यूजिसी कार्यक्रमअन्तर्गत प्राप्त रकमबाट उत्कृष्ट, जेहेन्दार, गरिब, दलित तथा असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। यसै वर्ष थप दुई जना दाताले नयाँ अक्षयकोष स्थापना गरेका छन्।
विद्यार्थी छात्रवृत्तिकै लागि इटहरीका उद्योगी व्यापारी भीमबहादुर पौडेलले ५१ लाख रुपैयाँको चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसी र क्याम्पस प्रमुख अधिकारीलाई हस्तान्तरण गरे। पौडेलले पुस ५ गते आयोजित अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन समारोहमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए।
सोही अवसरमा कर्मचारी यामनाथ पौडेललाई नगदसहित सम्मान गरियो। इटहरी उपमहानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिताका विजयी विद्यार्थी तथा अन्तर्राष्ट्रिय सम्मेलनमा आर्थिक सहयोग गर्ने दातालाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका उम्मेदवारलाई छनोट गर्न मतदातालाई आग्रह गरे।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायोजन प्रमाणपत्र प्राप्त जनता क्याम्पसमा हाल स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तर तहमा एमएड र एमबिबिएस कार्यक्रम सञ्चालनमा छन्। कक्षा ११ र १२ समेत सञ्चालन भइरहेको क्याम्पसमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।


































































