इटहरी : सुनसरीको कोशी गाउँपालिका १ का विजय शाहको हत्याको अनुसन्धान गर्न बनेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले प्रतिवेदन तयार पारेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो । 
पुस १७ गते भएको हत्या घटनालाई रहस्यमै राखेर प्रतिवेदन तयार भएको पाइएको छ । शाह सहितले डिउटीमा खटिएका सशस्त्र प्रहरीका जवानमाथि आक्रमण प्रयास भएपछि प्रतिरक्षाको लागि गोली चलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन घटना लगत्तै प्रहरी अधिकारीले दिएको सूचनासँग मिल्दो छ । 
हत्या लगत्तै माहौल शान्त पार्न चार बुद्धे सहमति भएको थियो । मृतका श्रीमतीलाई जागिर, छोरालाई सशस्त्र प्रहरीमा भर्ना देखि राहत रकम उपलब्ध गराउने सहमति पछि आफन्तले शव बुझेका थिए । छानबिन समितिले सोही सहमतिलाई आधार बनाएर प्रतिवेदन तयार पारेको बुझिएको छ । 
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न समितिले सिफारिस गरेको छ । सीमा नाकालाई थप व्यवस्थित गरी चोरी पैठारी नियन्त्रण गर्नुपर्ने सुझाव समितिले दिएको उनको भनाइ छ । 
गोली कसरी चल्यो भन्ने विषयमा ठोस प्रमाण नभएको प्रतिवेदनमा बताइएको छ । गोली चलाउने सशस्त्र प्रहरीका जवानलाई कानुन अनुसार कारबाही गर्न उल्लेख गरिएको प्रतिवेदनमा अटो चालक शाहले आक्रमणको प्रयास गरेपछि  प्रतिकार गर्न खोज्दा गोली चलेको खुलेको छ  । 
स्थानीय नागरिकको समेत भनाई राखेर प्रतिवेदन तयार पारिएको हो । जसमा प्रहरी सँग मिलेमतोमै यसअघि पनि सामान ल्याउने गरिएको र पछिल्लो घटनाको सन्दर्भमा मोलमोलाइ नमिलेर घटना भएको बताइएको छ ।