धरान : धरान उपमहानगरपालिका नगर कार्यपालिका बैठकले श्रम संस्कृति पार्कमा राष्ट्रवादी गीत र नगर गीत मात्र बजाउने निर्णय गरेको छ।
कार्यपालिकाको आज बिहीबार बसेको बैठकले सार्वजनिक स्थलमा बजाइने सङ्गीतको विषयलाई नीतिगत निर्णय गरेको हो ।
यसबाट स्थानीय सरकारले रूपमा सार्वजनिक स्थलमा सांस्कृतिक अनुशासन र पहिचानलाई प्राथमिकतामा राख्ने सन्देश दिएको हो।
उक्त निर्णयसँगै श्रम संस्कृति पार्कमा अब राष्ट्रवादी गीत,देशभक्ति गीत,धरानको नगर गीत मात्र बजाइने व्यवस्था लागू गरिने भएको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले जिम्मेवारी सम्हालेपछि बसेको दोस्रो कार्यपालिका बैठकबाट कार्यपालिकाको बैठक सुरु हुँदा पनि राष्ट्रिय गीत र नगर गान बजाएर बैठक प्रारम्भ गर्ने निर्णय गरिएको छ ।
कार्यपालिकाको यस निर्णय सार्वजनिक स्थलमा सांस्कृतिक पहिचान, राष्ट्रिय भावना र नगर चिनारीलाई संस्थागत गर्ने प्रयास स्वरूप गरिएको बताइएको छ ।
कार्यपालिका बैठकले विकास,स्वास्थ्य,संस्कृति र अनुदान योजनासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले समपूरक र विशेष अनुदान अन्तर्गत नेपाल सरकार सँग आव २०८३÷०८४ का लागि चिण्डे डाँडा सुम्निमा पारुहाङ प्रतिमा–सम्पदा जाने बाटो निर्माण कार्य क्रमागत बजेट पर्यटन पूर्वाधार र्शिषकमा पहल गर्ने निर्णय गरेको छ । 
स्वास्थ्य अन्तर्गत वर्थिङ सेन्टरमा आवश्यक सामाग्री ल्याउने, शिक्षा अन्तर्गत फुस्रे पब्लिक स्कुलमा पूर्वाधारका लागि  आयोजना प्रस्ताव पठाउने निर्णय गरेको छ । 
धरान–१ लाई बालमैत्री वडा घोषणा गर्न यसअघि दिइएको स्वीकृतिलाई बैठकले औपचारिक अनुमोदन गरेको छ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र उपचार कार्यक्रम निरन्तरता दिन आव। २०८२÷०८३ मा पनि करुणा फाउण्डेशनसँग सम्झौता गर्ने निर्णय गरेको छ ।
धरान–६ पानबारीस्थित आसारा सुधार केन्द्रलाई ३० लाख बजेटको डिप बोरिङ निर्माण अनुमति दिने निर्णय भएको छ । 
कार्यपालिका बैठकमा प्रस्तुत  ८ वटा प्रस्ताव मध्ये ७ वटा महत्त्वपूर्ण निर्णय पास गरेको छ । निर्णयहरूमा गणपूरक बैठक, अघिल्लो कार्यपालिको निर्णय कार्यान्वयन,समपूरक र विशेष अनुदान समेत पास गरेको छ ।
बैठकमा जेसी अडिट प्रतिवेदन माथि छलफल अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।